हेटौंडाः बालविवाह न्यूनीकरणमा बालक र पुरुषको भुमिका विषयक अभिमुखिकरण कार्यक्रम सोमबार हेटौंडामा भएको छ । बाल दिवसको अवसरमा अस्मिता नेपालले आयोजना गरेको कार्यक्रममा जिल्लाको राक्सिराङ गाउँपालिका, विभिन्न गैरसरकारी संघसंस्था, नागरिक समाज, किशोरी समूहका प्रतिनिधिको सहभागिता रहेको थियो ।

‘बालबालिकाको इच्छा, विवाह होइन शिक्षा’ भन्ने नाराका साथ आयोजित कार्यक्रममा मेन इन्गेज एलायन्स नेपालका प्रकाश खतिवडा र अस्मिता नेपालकी अध्यक्ष आरती पाठकले सहजीकरण गरेका थिए । कार्यक्रममा बालविवाहको बर्तमान स्थिति, बालबिवाह हुनुको कारण तथा असरहरु, बाल विवाहबाट हुने शारिरीक र मानशिक समस्याहरु, राष्ट्रिय कानूनी व्यवस्था तथा नीति, बाल विवाह अन्त्यका लागि राष्ट्रिय रणनीति २०७२, अन्तर्राष्ट्रिय र क्षेत्रीय प्रतिबद्धता लगायतको विषयमा प्रस्तुतीकरण गरिएको थियो ।

कार्यक्रममा राक्सिराङ गाउँपालिका वडा नम्वर २ का अध्यक्ष सुर्यबहादुर मोक्तान, वडा नम्बर ३ का अध्यक्ष बाबुलाल स्याङ्तान, अभिभावक समूहका अध्यक्ष चित्रबहादुर थिङ, किशोरी समूहकी अध्यक्ष रामकुमारी प्रजा, नारी संरक्षण केन्द्र मकवानपुरका कार्यक्रम संयोजक राम मिजार लगायतले मन्तव्य ब्यक्त गरेका थिए ।