सांकेतिक तस्वीर

अनिल पराजुली/कतारः कतारबाट स्वदेश फर्कने पहिलो सूचीमा मकवानपुर जिल्लाका ९४ जना परेका छन् । नेपाली राजदूतावास दोहा कतारले कतारबाट नेपाल फर्कन पर्ने नेपालीको सूचीमा मकवानपुर जिल्लाका १० महिला र ८४ जना पुरुषको सूची सार्वजनिक गरेको हो ।

दूतावासद्वारा जारी सूचीमा मकवानपुर जिल्लाका १६ जना बेतलबी बिदामा, २१ जना कतार आइडी र भिसाको म्याद सकिएको, ४९ जनाले रोजगारी गुमाएको र श्रम करार अवधि समाप्त भएकाले उनीहरुलाई घर जाने सूचीमा राखिएको छ । ११ जुलाईसम्म दूतावासको सम्पर्कमा आएका तथा फारम भरेकामध्ये मकवानपुर जिल्लाका ८ जनामा जटिल स्वास्थ्य समस्या भएका कारण उनीहरुलाई घर जाने सूचीमा राखिएको हो । एक महिलासहित ७ जना पुरुषमा जटिल स्वास्थ्य समस्या रहेको दूतावासले जनाएको छ ।

दुतावासले कतारमा रोकिएर स्वदेश जान नपाएका नेपालीहरुलाई प्राथमिकताको आधारमा फर्काउन लागेको जानकारी दिँदै १६ र २० जुन २०२० मा नेपाल एयरलाइन्सका २ उडानहरु र १७ र २२ जुन २०२० मा हिमालय एयरलाइन्सका २ उडानहरु हुने जनाएको छ । मकवानपुर मिलन केन्द्र कतारको तथ्याङ्क अनुसार मकवानपुर जिल्लाबाट कतारमा रोजगारीका लागि करिब २२ हजार जना आएका थिए ।