अनिल पराजुली/कतारः रोजगारीको शिलशिलामा कतारमा रहेका मकवानपुरेहरुको अवस्थाबारे मकवानपुरका नेता तथा जनप्रतिनिधिहरुले चासो नदेखाएको भन्दै मकवानपुर मिलन केन्द्र दोहाले गुनासो गरेको छ ।
कोरोना भाइरसको कारण प्रभावित बनेको कतारमा रोजगारीका शिलसिलामा आएका मकवानपुरेको अवस्थाप्रति कसैले पनि चासो नदेखाएको अन्तर्राष्ट्रिय समन्वय परिषद् संयोजक तथा मकवानपुर मिलन केन्द्र दोहा कतारका संरक्षक सरोज पुडासैनीले गुनासो गरे । उनले कतार आएका बेला स्वागत तथा सम्मान गरेको व्यक्तिहरुको नाम सम्झदै भने उनीहरुले अहिले मकवानपुरे आप्रवासीलाई बिर्सिएका छन् ।
कतारमा कोरोना भाइरस संक्रमित मध्ये मकवानपुर जिल्लाका ३१ जना मकवानपुर मिलन केन्द्रको सम्पर्कमा आएका छन्, जसमध्ये २ जना संक्रमित निको भएर फर्किएका छन् । निको हुनेहरुमा एक जना पिप्ले र एक जना बकैया गाउँपालिका निवासी युवा रहेको केन्द्रका संरक्षक पुडासैनीले जानकारी दिए । केन्द्रको २०१८ को तथ्याङ्क अनुसार मकवानपुर जिल्लाबाट कतारमा रोजगारीका लागि करिब २२ हजार मकवानपुरे आएका थिए ।
कम्पनीबाट रिजाइन दिएर घर जान ठिक्क परेर बसेका हेटौंडाका ३५ बर्षीय युवा नेपालको उडान रद्द हुँदा करिव दुई महिनादेखि कतारमा रोकिएका छन् । नेपालमै आफ्नो कर्म गर्ने सुनाउँदै खुशी भएका उनी घर जाने सबै तयारी गरेर अफिसियल काम सकाएर बसेका थिए । कम्पनीबाट टिकट र पासपोर्ट लिनमात्र बाँकी थियो, नेपाल सरकारले नेपालको उडान रद्ध गरेपछि उनी अहिले कतारमै रोकिएका छन् । उनीसँग कोठामा बस्ने साथीलाई कोरोना पोजेटिभ देखिएपछि उनी क्वारेन्टाइन बसेर अहिले कोठामै फर्किएका छन् । बेलाबेला गफिँदै उनी भन्ने गर्थे–पहिला विदेश जाने सपना हुन्थ्यो, अहिले विदेशबाट घर जाने ।
कोरोना भाइरस संक्रमणका कारण कतारमा समस्यामा परेका नेपालीहरुको एकीकृत अभिलेखिकरण गरी समस्याको समाधान गर्न नेपाली राजदूतावास दोहा कतारले पहिलो चरणमा अप्रिल २३ मा दर्ता फारम सार्वजनिक गरेपछि हेटौंडाका युवाले घर जान पाउँ भन्दै फारम भरेका थिए । त्यस्तै दोश्रो चरणमा पुनः जून ४ मा घर फर्कन चाहनेले फारम भर्न भन्दै दर्ता फारम भर्न भनिएपछि घर जाने आशामा उनले त्यो पनि हतार हतार भरेर भ्याएका थिए । केवल टिकट र पासपोर्टको पखाईमा रहेका हेटौंडेली युवाले नेपाल जाने उडान रद्द हुँदा दुई महिनादेखि कोठामै बसेर बेला बेला दूतावासमा फोन गर्दै घर जाने दिन सोधिरहेका हुन्छन् ।
त्यस्तै सरकारले कोभिड–१९ महामारी र लकडाउनका कारण अप्ठ्यारोमा परेका नेपालीमध्ये तत्कालै उद्दार गर्नुपर्ने नागरिकको सूची तय गरेको छ । नेपाली दूतावास र नियोगहरुबाट प्राप्त विवरण अनुसार कतारबाट पहिलो प्राथमिकताका आधारमा ३ हजार ६ सय ८ जना उद्दार गर्नुपर्ने सूचीमा छन् ।
कतारमा मंगलबारसम्म कोरोना संक्रमितको संख्या ७१ हजार ८ सय ७९ पुगेको छ । संक्रमणका कारण ६२ जनाको मृत्यु भईसकेको छ । पहिलो स्वाब नतिजा पोजेटिभ आएका सामान्य बिरामीलाई १४ दिनमा डिस्चार्ज दिने बिश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को मार्ग निर्देशन अनुसार अपनाइएको स्वास्थ्य उपचार विधिका कारण ४७ हजार ५ सय ६९ डिस्चार्ज भएका छन् । हाल कतारमा २४ हजार २ सय ४८ जना कोरोना संक्रमित क्वारेन्टाइनमा छन भने कतारले अहिले सम्म २ लाख ६५ हजार ३५ जनाको कोरोना जाँच गरेको छ । संक्रमित मध्ये धेरैजसो आप्रवासी नागरिकहरु छन् । कतार सरकारले कुन देशका संक्रमित नागरिक कति रहेको छ भन्ने तथ्याङक भने सार्वजनिक गरेको छैन ।
नेपाल सरकारले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएपछि २० मार्च अर्थात् चैत ७ गते शुक्रबारबाट युरोपका सबै मुलुक, पश्चिम एसियालगायत खाडी क्षेत्रका मुलुक, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया र जापानसहित ५५ देशबाट नेपाल आउन रोक लगाएको थियो । हाल कतारमा करिव ३ लाख ५१ हजार नेपाली कार्यरत रहेको बताइन्छ ।