हेटौंडाः गत जेठ १० गते पश्चिम रुकुम चौरजहारी ८ सोतिमा घटेको सामुहिक हत्याकाण्डको बिरुद्धमा आज आईतबारबाट हेटौंडाको बुद्धचोकमा ५ दिने हस्ताक्षर सङ्कलन एवम् धर्ना कार्यक्रम शुरु भएको छ । बिहान ७ बजेबाट ९ बजेसम्म धर्ना तथा हस्ताक्षर अभियान सुरु गरिएको हो ।

हस्ताक्षर सङ्कलन तथा धर्ना कार्यक्रमको औचित्यबारे बोल्दै जनदबाब अभियानका अभियन्ता भूमिनन्द गौतमले देशमा भइरहेका हत्या हिंसाका घटनाका दोषीले उमुक्ति पाइरहेको सन्दर्भमा यो सामुहिक हत्याकाण्डका दोषीलाई पनि कारवाही नगराउन राजनीतिक चलखेल शुरु भएको आरोप लगाए । उनले दोषीलाई कारबाहीको भागीदार बनाउनकै लागि यो अभियान शुरु गर्नु परेको जानकारी दिए । त्यस्तै दलित अधिकारकर्मी केशब रसाइलीले जातका आधारमा हुने यस्ता अपराधका घटनामा राज्यले बिभेद गर्दै आइरहेको भन्दै घटनाका दोषीहरुले उन्मुक्ति पाउने सम्भावना बढेको बताए । उनले यस्ता दबाबमुलक कार्यक्रम सबैतिर हुनुपर्नेमा जोड दिए । कार्यक्रमका अर्का वक्ता तथा दलित अधिकारकर्मी जङ्गबहादुर बिश्वकर्माले समाजमा बिभेद कायम रहेसम्म आफूहरुको आन्दोलन जारी रहने स्पष्ट पारे ।

कार्यक्रममा अभियानकर्ता कुमार पोखरेल, मिरा तिमल्सिना, समिता रसाइली, अमित श्रेष्ठ, रामचन्द्र कार्की, हेटौंडा जेसिसका अध्यक्ष राजदेब बानियाँ, जिल्ला खेलकुद परिषद् मकवानपुर अध्यक्ष सानु लामा लगायतको उपस्थिति रहेको थियो ।

अभियान अन्तर्गत ५ दिनसम्म प्रत्येक दिन बिहान ७ बजेदेखि ९ बजेसम्म हस्ताक्षर संकलन गरी सम्बन्धित निकायलाई बुझाईने स्वतन्त्र जनदबाब अभियानका संयोजक अनिलकुमार खातीले जानकारी दिए । आज सुरु भएको हस्ताक्षर संकलन कार्य आउँदो जेष्ठ २९ गतेसम्म जारी रहनेछ ।

पश्चिम रुकुमको चौरजहारी–८ मा जाजरकोट भेरी नगरपालिका वडा नं. ४ रानागाउँका नवराज विक र पश्चिम रुकुमको चौरजहारी ८ की एक युवतीबीचको प्रेम सम्बन्ध रहेकोले विवाह गर्न विकसहितको समूह युवतीको गाउँ पुग्दा स्थानीयहरुले उक्त समूहलाई कुटपिट र हत्या गरी भेरी नदीमा बगाईदिएको पीडित पक्षको आरोप लगाईएको छ । घटनामा प्रेम सम्बन्ध रहेका भनिएका विकसहित गणेश बुढामगर, टीकाराम नेपाली, लोकेन्द्र सुनार, गोविन्द शाही र सञ्जु विक रहेका छन् ।