रुकुम पश्चिममा भएको हत्याकाण्डमा संलग्नलाई कारबाहीको माग तथा मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्न सञ्जाले आयोजना गरेको कार्यक्रममा सहभागी मकवानपुरका दलित अधिकारकर्मीहरु ।

हेटौंडाः रुकुम पश्चिममा नवराज विकसहित ६ जनाको ज्यान जाने गरी भएको हत्या प्रकरणको बिरोधमा देशैभर प्रदर्शन भइरहँदा शुक्रबार मकवानपुरको हेटौंडामा पनि घटनाको बिरोध तथा शोकसभा भएको छ ।

घटनाको १३औं दिनको तिथिमा मृतकहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै दोषीहरुलाई कारबाहीको मागसहित दलित सञ्जाल मकवानपुरले कार्यक्रमको आयोजना गरेको हो । सभामा बोल्दै दलित अधिकारकर्मी जंगबहादुर बिश्वकर्माले दोषीहरुलाई कारबाहीको लागि प्रधानमन्त्री, गृहमन्त्री, सभामुख, मुख्यमन्त्री लगायत सरकारका जिम्मेवार निकायलाई ज्ञापन पत्र बुझाइएको जानकारी दिए । पीडितले न्याय पाउन् भन्ने उद्देश्यले आफूहरु सडकमा आउन बाध्य भएको उनको बुझाई छ ।

‘आजको युगमा पनि देशव्यापी रूपमा जातीय विभेदका घटना भएका छन्’, क्वारेन्टाइनमा भएको जातीय विभेदको घटनालाई जोड्दै उनले भने, ‘हिन्दु धर्ममा विभेद छैन भन्नेहरूले विभेद गर्ने पुजारी र पण्डितहरूलाई त्यो कुरा सिकाइदिनु पर्यो ।’
कार्यक्रममा बोल्दै दलित अधिकारकर्मी युक्तलाल विश्वकर्माले आज पनि देशका ६० लाख दलित समुदाय साँचो अर्थमा मानव बन्न नसकिरहेका बताए । रुकुम नरशंहारलाई मानव अधिकारको गम्भीर उल्लंघनको रुपमा चित्रण गर्दै उनले यस घटनाबाट दलित समुदाय मर्माहत भएको बताए । ‘धेरै प्रमाणहरु यस्ता छन्, जसले घटना जातीयताकै आधारमा घटाइएको स्पष्ट हुन्छ’, उनले भने ।

मुलुकमा ठूला राजनीति परिवर्तनका क्रममा दलित समुदायको योगदान रहेपनि शासन सत्तामा पुगेकाहरुबाट दलितको अधिकार कुण्ठित गरिएको उनले बताए । ‘दलित समुदायमाथि दमन गर्ने राज्यको नीति यथावत नै छ’, उनले भने । घटना हत्या हो भन्ने स्पष्ट हुँदाहुँदै लुकाउने, तोडमोड गर्ने वा अरू किसिमको व्याख्या गर्न खोजियो भने दलित समुदाय कुनै हालतमा चुप लागेर नबस्ने चेतावनी उनले दिए ।
कार्यक्रममा जन सरोकार केन्द्र मकवानपुरका संयोजक ध्रुब प्रसाद चौलागाईंले रुकुम घटना निन्दनीय रहेको र सरकारमा रहेका जिम्मेवार व्यक्तिहरुले घटनाको सन्दर्भमा दिएको अभिव्यक्ति झनै निन्दनीय रहेको बताए । उनले पीडकलाई कारबाही र मृतकहरुलाई साँस्कृतिक सहिद घोषणा गर्नुपर्ने बताए । साथै घटनाको अनुसन्धान समितिमा पीडित पक्षका प्रतिनिधि पनि समावेश हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा दलित अधिकारकर्मी समीता रसाइली, दलित सञ्जाल मकवानपुरका संयोजक रत्नलाल विश्वकर्मा, अधिकारकर्मी कमल कुमार विश्वकर्मा लगायतले जातीय आधारमा हत्या गरिएको भन्दै हत्याराहरूलाई हदैसम्म कारबाहीको माग गरे । अन्तरजातीय प्रेम सम्बन्धका कारण जाजरकोट भेरी नगरपालिका–४ का नवराज विकसहित ६ जनालाई निर्ममतापूर्वक हत्या गरिएकोमा दोषीलाई कारबाही तथा पीडितलाई न्याय माग गर्दै सञ्जालले मकवानपुरमा आन्दोलनका कार्यक्रमहरु गर्दै आएको छ ।