राहुल गुप्ता/पर्साः पर्सा क्षेत्र नं. १ बाट निर्वाचित तत्कालिन समाजवादी पार्टीका सांसद प्रदीप यादवले कारोना महामारीको बेला फ्रन्टलाईनमा खट्ने पर्साका सुरक्षाकर्मी तथा सञ्चारकर्मीहरुलाई मास्क, सेनिटाईजर र ग्लबस् वितरण गरेका छन् ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट पर्साका सञ्चारकर्मी तथा सुरक्षाकर्मी सुरक्षित रहुन भने उद्देश्यले सांसद यादवले वीरगंजको घण्टाघरमा बुधबार एक कार्यक्रमका बीच मास्क, सेनिटाईजर तथा ग्लबस् वितरण गरेका हुन् ।
कोरोना रोकथाम तथा नियन्त्रण गर्न लामो समयदेखि नेपालमा जारी लकडाउनको बेला पर्साका सञ्चारकर्मीहरु आफ्नो पेशामा निरन्तर लागेकोमा धन्यबाद दिँदै उनले संचारकर्मीहरु पनि सुरक्षित र स्वस्थ रहुन भने उद्देश्यले स्वास्थ्य सामग्री वितरण गरेको बताए । नियमित रुपमा सवधानी नअपनाए कोरोना संक्रमणको जोखिममा पर्न सकिने भएकोले सञ्चारकर्मीहरुले दिनहुँ प्रयोगमा ल्याउन सकिने ‘‘ए–९५’’ मास्क, ग्लबस र सेनिटाईजर जस्ता सामग्रीहरु वितरण गरिएको हो ।
त्यस्तै, कोरोना भाइरसलाई फैलिन नदिन र यसको जोखिमबाट आम नागरिकलाई जोगाउनका निम्ति सांसद यादवले आफ्नो क्षेत्रको प्रत्येक स्वास्थ्य चौकीमा ज्वरो नाप्ने स्टेनगंज मेसिन, मास्क, सेनिटाईजर र ग्लबस् वितरण गर्ने तयारी गरेको बताए । उनले पर्सा क्षेत्र नं. १ मा पर्ने प्रत्येक स्वास्थ्यचौकीमा स्वास्थ्यकर्मीको लागि पिपिई सेट वितरण गरिने बताए ।
स्वास्थ्य उपकरण वितरण कार्यक्रममा सांसद यादवसँगै नेपाल पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष दिपेन्द्र चौहान, पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा, तत्कालिन समाजवादी पार्टी वीरगंज महानगर कमिटी अध्यक्ष ईश्वरचन्द्र यादव, समाजवादी प्रेस युनियनका पर्सा अध्यक्ष आर के पटेल, वरिष्ट पत्रकार तुलसी भण्डारी, राम शर्राफ, जियालाल साह, नरेश सर्राफ लगायतका पर्सेली सञ्चारकर्मीहरु सहभागी थिए ।