सांकेतिक तस्वीर

हेटौंडाः मकवानपुरमा दादुरा रुवेला खोप अभियान भोली चैत्र १ गतेबाट सुरु हुने भएको छ । खोप अभियान २०७६/०७७ अन्तर्गत मकवानपुरको स्थानीय तहलाई दुई चरणमा खोप लगाइने भएको उल्लेख छ ।

सन् २०२० मा दादुरा खोप अभियान अन्तर्गत पहिलो चरणमा बकैया गाउँपालिकामा चैत्र १ गतेदेखि २३ गतेसम्म अभियान चलाउन लागेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख प्रणयकुमार उपाध्यायले बताए । खोप अभियान राक्सिराङ गाउँपालिकामा पनि १ गते सुरु भई ६ गते सम्पन्न गरिने, कैलाश गाउँपालिकामा १ गते बाट ११ गते सम्म, बागमती गाउँपालिकामा १ गतेबाट ९ गतेसम्म र मनहरी गाउँपालिकामा १ गतेबाट ८ गतेसम्म खोप अभियान चलाउने तयारी रहेको प्रमुख उपाध्यायले जानकारी दिए ।

दादुरा–रुवेला खोप अभियानको दोस्रो चरणमा भीमफेदी गाउँपालिकामा चैत्र १० गतेबाट १८ गते सम्म, इन्द्रसरोवर गाउँपालिकामा १५ गतेबाट २३ गते सम्म, मकवानपुरगढी गाउँपालिकामा १७ गतेबाट २३ गते सम्म, थाहानगरमा १५ गतेबाट २३ गते सम्म र हेटौंडा उपमहानगरमा ११ गतेबाट १९ गते सम्म अभियान सञ्चालन हुने बताए ।

जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार मकवानपुरमा ९ देखि २४ महिनाको बालबालिकाको संख्या १२ हजार ९८ र २४ देखि ५९ महिनाको संख्या ३१ हजार २०५ जना गरि ४३ हजार ३०३ बालबालिकालाई दादुरा रुवेलाको खोप लगाउनु पर्नेछ । मकवानपुरमा एक हजार १ सय ७८ जना खोप कार्यकर्ता खटाएर ५ सय ४१ स्थानमा खोप केन्द्रबाट खोप लगाइने कार्यालयका प्रमुख उपाध्यायले बताए ।