अञ्जली थापा/
हेटौंडाः नव नियुक्त भौतिक पूर्बाधर तथा योजना मन्त्री रामेश्वर फुयाँलले आफुहरुको कार्यअबधि अब २ बर्ष ९ महिना बाँकी रहेको र कार्यअबधि सकिएर जाने बेलामा जनताले हाँसेर धन्यबाद दिने बताएका छन् । मन्त्रालय अन्तर्गतका बिभाग प्रमुखहरुसँगको छलफलमा उनले यस्तो बताएका हुन् ।

राज्यले देखेको सपना ‘सफा, सुन्दर, समृद्ध र खुसी सहितको प्रदेश’ निर्माणमा आफु दत्तचित्त भएर लागिपर्ने बताउँदै मन्त्री फुयाँलले यो अभियानमा सहयोग गर्नको लागि राष्ट्रसेवक कर्मचारीलाई आग्रह गरे । उनले कर्मचारीलाई भने, “अग्रगतिको चुकुल हाल्नुस कार्यप्रगती आफै अगाडी बढ्छ, फोनको भरमा होईन, कानुनको भरमा सेवा दिनुस् ।” उनले थपे “हाम्रो लागि तपाईहरु सचिबदेखि कार्यालय सहयोगीसम्मको हैसियत एकै हो, मात्र दायित्व फरक हो, तपाईंहरु पनि सबै सेवाग्रीलाई एकै सरहको सेवा दिनुस्, सेवा दिँदा सेवाग्राहीको हैसियत नहेर्नुस्, काम के हो त्यो गर्नुस् ।” मन्त्री फुयाँलले सेवाग्राहीको काम नहुने भए कारणसहित लिखित रुपमा यो कारणले सेवा दिन सकेनौं भनी दिएर पठाउनको लागि समेत निर्देशन दिए । साथै, उनले कर्मचारीहरुलाई चैत्र १४ गते कार्यप्रगती सहित उपस्थित हुन पनि निर्देशन दिए ।

मन्त्रालय अन्तर्गत प्रदेशका ४६ वटा कार्यालयहरुले मन्त्री फुयाँललाई आफ्ना प्रगती बिबरण र कार्य गर्दाको कठिनाईका बारेमा अबगत गराएका थिए । सबै कार्यालयहरुमा जनशक्ति अभाब भएका र संघीय कानुन र प्रदेश कानुन बाझिँदा समस्या भएको जानकारी गराएका थिए ।

कार्यक्रममा जलश्रोत तथा उर्जा विकास महाशाखाका निर्देशक मेघराज अवस्थीले नदि व्यवस्थापनका कामले निरन्तरता पाइरहेको भएपनि सिंचाईको कामले गति लिन नसकेको बताए । उनले डिपिआरको काम नसकिएको र संघीय सरकारले दिने अनुदान रकम समेत समयमा प्राप्त नहुँदा लक्ष्य बमोजिमको कार्य प्रगती हुन नसकेको व्यहोरा जानकारी गराए ।
कार्यक्रममा सबैजसो कार्यालय प्रमुखहरुले न्युन बजेट, समयमा अख्तियारी प्राप्त नहुनु र श्रोत साधन पर्याप्त नहुनुले कार्य प्रगतीमा समस्या पारेको बताएपनि मन्त्री फुयाँलले समस्याहरु मन्त्रालयले समाधान गर्ने वचन दिँदै अबको बैठकमा आउँदा प्रगती अनिवार्य हुनुपर्ने निर्देशन दिए । -रासस