हेटौंडाः मकवानपुुरको पूर्वी क्षेत्रमा रहेको बागमती गाउँपालिकामा फागुन दोस्रो साता हुने बागमती गोल्डकप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।

बागमती खेलकुद विकास समितिले सार्वजनिक गरेको खेल तालिका अनुसार आयोजक फापरबारी र बागमती युवा क्लव सर्लाहीबीच उद्घाटन खेल हुने भएको छ । भोली शनिबारदेखि सुरु हुने प्रतियोगिता अन्तर्गत दोस्रो खेल फाल्गुन ४ गते न्यू डाँफे युवा क्लव र नवजागृति युवा क्लवबीच हुनेछ ।

ए डिभिजनका ५ वटा टिमसहित १० टिम सहभागी हुने प्रतियोगिताबाट स्थानीय खेलाडी उत्पादन गर्ने लक्ष्य राखिएको बागमती खेलकुद विकास समितिका अध्यक्ष अरुण बलले जानकारी दिए । प्रतियोगितामा ए डिभिजनका जावलाखेल युथ क्लब, संकटा युथ क्लब, हिमालयन शेर्पा, च्यासल युथ क्लब र साविक विजेता सरस्वती युवा क्लब खेल्ने आयोजकले जनाएको छ । त्यस्तै मोफसलका मकवानपुर जिल्ला लिग विजेता न्यू डाँफे युवा क्लब, सिमराको नव जनजागृती, सर्लाहीको बागमती युवा क्लब, बीरगञ्ज यूनाइटेड र आयोजक टिम खेल्नेछन् ।

फागुन १३ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ६ लाख र उपविजेतले ३ लाख नगदसहित शिल्ड र मेडल प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । उत्कृष्ट गोलरक्षक, फरवार्ड, मिडफिल्डर, डिफेन्डर र प्रशिक्षकले जनही १० हजार रुपैयाँ प्राप्त गर्ने जनाइएको छ । प्रत्येक खेलका म्यान अफ द म्याच हुने खेलाडीलाई ५ हजार रुपैयाँ नगद पाउनेछन् ।

गृहमन्त्री रामबहादुर थापा (बादल)ले प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम तय भएको आयोजकले जनाएको छ । बागमती खेलकुद विकास समितिको आयोजना र बागमती गाउँपालिकाकोे प्रायोजनमा सञ्चालन हुँदै आएको प्रतियोगिताको तेस्रो संस्करण फापरबारीस्थित जनता माविको प्राङ्गणमा हुन लागेको हो । गोल्डकपमा एकैसाथ प्याराफिट र खुल्ला स्थानमा बसेर ७ हजार दर्शकले खेल हेर्न सक्ने बताइएको छ । भोली हुने खेल उद्घाटनको सबै काम सकिएको र प्रचारप्रसार तीब्र पारिएको संयोजक बलले जानकारी दिए ।