हेटौंडाः हेटौंडा उपमहानगरपालिका–१२ हात्तीगौंडामा स्वास्थ्यचौकी स्थापना गरेर स्वास्थ्य सेवा दिन थालिएको छ । हेटौंडा उपमहानगरपालिकाले स्वास्थ्यचौकीको स्थापना गरेर स्वास्थ्य सेवा दिन सुरु गरेको हो ।
स्वास्थ्यचौकीको उद्घाटन गर्दै हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले हेटौंडाका गाउँगाउँका नागरिकलाई स्वास्थ्यमा पहिलो प्राथमिकता दिएर सेवा दिन सुरु गरिएको बताए ।
स्थानीय सरकारको पहिलो प्राथमिकतामा स्वास्थ्य र शिक्षा रहेकाले हेटौंडाका गाउँगाउँमा समेत स्वास्थ्य सेवा दिनका लागि सुरु गरिएको मेयर महतले जानकारी दिए । पछिल्लो समयमा हेटौंडाका प्रत्येक वडामा स्वास्थ्यचौकी स्थापना गर्ने अभियान अनुसार काम गरिएको हो ।
हात्तीगौंडा स्वास्थ्यचौकीबाट सुत्केरी सेवा, परिवार नियोजनका सेवा, सामान्य खालका विरामीको उपचार सेवा दिन सुरु गरिएको वडाध्यक्ष ललित घलानले जानकारी दिए । गाउँमै स्वास्थ्यचौकी खुलेपछि सामान्य खालका स्वास्थ्यसेवा लिनका लागि हेटौंडा अस्पतालसम्म पुग्नुपर्ने बाध्यता हट्नेछ।