हेटौंडाः हेटौंडा उपमहानगरपालिका अन्तर्गत साविक जनप्रिय स्रोत केन्द्र स्तरीय निबन्ध लेखन प्रतियोगितामा बालबोध माविकी साक्षी भुजेल प्रथम भएकी छन् ।

हेटौंडा उपमहानगरपालिका शिक्षा विकास महाशाखाले शुक्रबार राजदेवी मावि गुवाबारीमा ‘मेरो अभिभावक’ विषयक निबन्ध लेखन प्रतियोगिता आयोजना गरेको थियो । आधारभूत तह (कक्षा ६–८) अन्तर्गत निबन्ध लेखन प्रतियोगितामा सहभागी १७ जनालाई पछि पार्दै बालबोधकी साक्षी प्रथम स्थान हासिल गर्न सफल भएकी हुन् । प्रतियोगितामा कमला आधारभूत विद्यालयकी एलिसा बोलखे द्वितीय, जनप्रिय माविकी रश्मि बलामी तृतीय र मकवानपुर बाल विद्या सदनकी प्रश्ना गुरुङ सान्त्वना हुन सफल भइन् । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुन सफल विद्यार्थीलाई क्रमशः १५००, १२००, १००० ,८०० नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

स्रोत केन्द्र अन्तर्गत १२ विद्यालयका १८ जना प्रतियोगीले भाग लिएको उक्त प्रतियोगितामा साहित्यकार सुवास खनाल र पत्रकार सुनिल गौतमले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

राजदेवि माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिव्यराज धमलाको सभाध्यक्षतामा भएको उक्त कार्यक्रममा ज्योति माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष हर्क रम्तेल, राजदेवी मावि अभिभावक संघका अध्यक्ष चोपलाल धमला र प्रधानाध्यापक सानुकाजी पाण्डे लगायतले मन्तव्य व्यक्त गरेका थिए ।