हेटौंडाः मकवानपुरको वागमती गाउँपालिका–५ ज्यामिरेमा रहेको देवकी माविमा अभिभावकको कुरा नसुनी व्यवस्थापन पक्षले मनोमानी तरिकाले विद्यालय चलाएको अभिभावकले गुनासो गरेका छन् । नातावाद र परिवारवादले पिरोल्दा विद्यालयमा अभिभावकको गुनासा सुनुवाई नभएको अभिभावकको आरोप छ ।

विद्यालयमा वार्षिक रुपमा अभिभावक भेला गर्नुपर्ने प्रावधान रहेपनि त्यसो हुन नसकेको भन्दै एक अभिभावकले विद्यालयमा आर्थिक अनियमितता लगायतका समस्या आइरहेको बताएका हुन् । ‘अभिभावक बोलाएर भेला गर्ने, सबैको कुरा सुन्ने गरिँदैन, यहाँ मनोमानी भयो’, एक स्थानीय अभिभावकले भने । कम्तीमा ५ वर्षयता एउटै समितिले विद्यालय व्यवस्थापनको जिम्मा लिइरहेको ती अभिभावकको दावी छ ।

स्थानीय जानकी जर्गा मगर सो विद्यालयको व्यवस्थापन समिति अध्यक्ष छिन्, भने खड्कबहादुर पुलामी प्रधानाध्यापक छन् । विद्यालमा करिब ७ सय विद्यार्थी अध्ययनरत छन् ।