हेटौंडाः बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले अहिलेका सञ्चार माध्यमले सकारात्मक सन्देश दिनुपर्ने विचार व्यक्त गरेका छन् ।
सामुदायिक रेडियो प्रसारक संघको अयोजनामा आज शुक्रबार बिहान हेटौंडामा भएको नवौं रेडियो दिवस–२०२० को अवसरमा रेडियो र विविधता सम्बन्धी विषयमा अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले अहिलेका सञ्चार माध्यमले सकारात्मक सन्देश दिनुपर्ने बताएका हुन् । सामुदायिक रेडियोको समुदायप्रतिको दायित्व अझ सकारात्म हुनुपर्ने उनले बताए ।
मुख्यमन्त्री पौडेलले सञ्चार माध्यमका लागि अहिलेसम्म संघीय सरकारले गर्न नसकेका काम प्रदेश सरकारले गरेको दावी पनि गरे । संघीय सरकारले २ सय ५० को इतिहासमा गर्न नसकेको काम प्रदेश सरकारले गरेको भनाई छ । ‘संघीय सरकारले सञ्चार क्षेत्रका लागि गर्न नसकेको काम हामीले दुइवर्षमा गरेका छौं । जेष्ठ नागरिकलाई पेन्सन दिने व्यवास्था र महिला पत्रकारका निम्ति सुत्केरी भएका बेला सुविधा दिन लागेका छौं’, उनले भने ।
कार्यक्रममा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जमकट्टेल, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, उपप्रमुख भगवती पुडासैनी, हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख मिना कुमारी लामा, प्रदेशका प्रेस रजिष्टार रेवती सापकोटा, सामुदायिक रेडियो प्रसारक संघका केन्द्रीय महासचिव गोविन्द देवकोटा, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष प्रताप विष्ट, ब्रोकाष्टिङ एशोसीएसन अफ नेपाल वानका केन्द्रीय उपाध्यक्ष उज्वल चौलागाईं लगायतले मन्तव्य व्यक्त गरेका थिए ।