हेटौंडाः नदी, कुलो र नहरबाट सिँचाई सुविधा नभएको रौतहट र सर्लाहीका खेतीका लागि भुमिगत सिँचाईको माध्यमबाट कृषि उत्पादन बढाउन भूमिगत सिँचाई सुविधा विस्तार गरिएको छ ।

भूमिगत जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय सर्लाहीका अनुसार रौतहट र सर्लाही जिल्लामा डिप ट्युबेल र स्यालो ट्युबेलको निर्माण गरी सिँचाई सुविधा विस्तार गरिएको हो । उक्त प्रक्रियाबाट कृषि बालीमा सिँचाई सुविधा पुगेको र उत्पादन बढेको किसानहरुको भनाई छ । सर्लाही जिल्लामा २०७५÷०७६ मा डिप ट्युबेल ४६ वटा तथा स्यालो ट्युबेल ८ हजार ८० वटा जडान गरी २३ हजार ८५० हेक्टर जमिनमा सिँचाई सुविधा पु¥याइएको प्रमुख कामेश्वर यादवको भनाई छ । त्यस्तै रौतहट जिल्लामा डिप ट्युबेल ३४ तथा स्यालो ट्युबेल ७ हजार ९०५ वटा निर्माण गरी २३ हजार ४३६ हेक्टर जमिनमा सिँचाई सुविधा पु¥याइएको छ ।

हाल रौतहटको फतुवा, विजयपुर र सर्लाहीको हरिवन नगरपालिका सखुवानीटोल, ढुंग्रे, बसन्तपुर र हरिपुरवा नगरपालिका र संग्रामपुरमा पुरानो योजना अन्तर्गत पम्पहरुको निर्माण, विद्युतीकरण र वितरण प्रणालीको काम सुरु भएको कार्यालयले जनाएको छ । कार्यालय प्रमुख यादवले भूमिगत सिँचाई योजनाको सर्लाही र रौतहटमा माग अत्याधिक रहेपनि बजेट भने न्यून रहेको बताए ।

सर्लाही र रौतहटमा नहर र नदी रहेपनि किसानको खेतसम्म पानी पुग्ने अवस्था नरहेको हुँदा १२ महिना भूमिगत सिँचाईबाट सिँचित गरिने हुँदा यसको माग बढेको हो । सर्लाही संग्रामपुरका रामदेव ठाकुरले यस प्रणालीबाट किसानलाई धेरै राहत पुगेको बताए । एउटा स्यालो ट्युबेल निर्माणमा करिब ६ लाख रुपैयाँ र डिप ट्युबेल निर्माणमा जमिनको अवस्था हेरी १८ देखि २० लाख रुपैयाँ लागतमा जडान हुने गरेको कार्यालयले जनाएको छ ।