हेटौंडाः बागमती प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर रमेश अधिकारीले यस क्षेत्रमा कोरोना भाइरस फैलन नदिन उच्च सतर्कता अपनाइएको बताएका छन् । आज हेटौंडा अस्पतालमा आयोजित पत्रकार अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सतर्कता अपनाउन प्रदेशका स्वास्थ्य संस्थाहरुलाई आवश्यक निर्देशन दिइएको र यस क्षेत्रमा जाँच कडा पारिएको जानकारी दिएका हुन् ।
विषेश गरी उच्च ज्वरो आउने, स्वास प्रस्वासमा समस्या, लामो समयसम्म रुघाखोकी लागिरहने लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श लिन डाक्टर अधिकारीले सुझाव दिए । हेटौंडा अस्पताल र चितवन अस्पतालमा पनि बिरामीमा भाइरसको लक्षण देखिए तत्काल छुट्टै राखेर उपचार गर्ने व्यवस्था गरिएको उनले जानकारी दिए । सबै बिरामीको ओपिडिमै उपचार गर्दा भाइरस फैलन सक्ने भएकाले दुई बेडको छुट्टै दुईवटा कोठाको व्यवस्था गरिएको हो ।
कोरोना भाइरस हावामा एक मिनेट र मानव शरीरमा १४ दिनसम्म मात्रै जिवित रहन सक्ने हुँदा उक्त संक्रमण आफ्नै स्वस्थ व्यवहारले नियन्त्रण गर्न सकिने निर्देशक डाक्टर अधिकारीले बताए । रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका, जेष्ठ नागरिक, दिर्घरोगीहरुलाई यो भाइरसले छिट्टै प्रभाव पार्ने भएकाले विशेष ख्याल गर्न तथा अन्य व्यक्तिसँग सम्पर्कमा आउँदा करिब तीन फिटको दुरी कायम गर्न उनले आग्रह गरे ।
बिश्वभरका २४ वटा देशमा २० हजार ६ सय ३० जनामा यसको संक्रमण देखिएको बताउँदै डाक्टर अधिकारीले चीनमा मात्रै २० हजार ४ सय ७१ जनामा यो संक्रमण देखिएको जानकारी दिए । अहिलेसम्म कोराना भाइरसका कारण २.२ प्रतिशतका दरले मानिसको मृत्यु भएको बिश्व स्वास्थ्य संगठनको तथ्याङ्क छ । उक्त भाइरसबाट हालसम्म ४ सय २५ जनाको मृत्यु भइसकेको छ । नेपालमा भने संकास्पद १४ जनालाई परीक्षण गर्दा १ जनामा मात्रै यसको संक्रमण फेला परेको थियो । छिमेकी देश चीनबाटै कोरोना भाइरस फैलिएकाले नेपालमा पनि संक्रमण फैलन नदिन उच्च सतर्कता अपनाउन सुरु गरिएको छ ।
सामाजिक विकास मन्त्रालय अन्तर्गत उच्च स्तरीय समिति र प्रदेश स्तरीय द्रुत प्रतिकार्य समिति गठन गरी कार्य अघि बढाएको निर्देशक डा. अधिकारीले बताए । सामाजिक विकास मन्त्रालयका सचिव डाक्टर गोकर्णमणि दुवाडीको संयोजकत्वमा स्वास्थ्य निर्देशनालयका निर्देशक डा. रमेश अधिकारी, प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रका निर्देशक डा. बसन्त अधिकारी, प्रदेश स्वास्थ्य तालिम केन्द्रका निर्देशक बद्री खड्का, प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. नारायण बहादुर कार्की, सामाजिक विकास मन्त्रालयका चिकित्सा महाशाखा प्रमुख डा. पुरुषोत्तम सेढाई लगायतको उच्च स्तरीय समिति गठन गरी नेपालको नाका तथा पर्यटकीय क्षेत्रहरुमा विषेश सावधानी अपनाइ काम भइरहेको छ ।
स्वास्थ्य निर्देशक रमेश अधिकारीको संयोजकत्वमा प्रदेश प्रहरी प्रमुख, प्रदेश खानेपानी सरसफाई प्रमुख, सामाजिक विकास महाशाखा प्रमुख, हेटौंडा अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट, पशु सेवा कार्यालयका प्रमुख, सामाजिक विकास मन्त्रालय चिकित्सा शाखा प्रमुख सम्मिलित प्रदेश स्तरीय द्रुत प्रतिकार्य समिति गठन गरिएको छ ।
परीक्षणका क्रममा चिकित्सकलाई पनि भाइरस सर्न सक्ने भएकाले प्रदेशका सबै सरकारी अस्पतालहरुमा एक÷एक थान चिकित्सक बचाउ गाउन खरिद गर्न निर्देशन दिइसकेको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थाका निर्देशक डाक्टर वसन्त अधिकारीले जानकारी दिए ।