हेटौंडाः अवैध रुपमा सञ्चालन भएको उद्योग ढुंगा, गिट्टी, बालुवा उद्योग बन्द गर्न पटक–पटक सूचना जारी गर्दा पनि सुनुवाई नभएपछि मकवानपुरमा अवैध उद्योग भत्काउने क्रम तीब्र रुपमा अघि बढाइएको छ । बितेको तीन दिनमा विभिन्न क्षेत्रमा अवैध रुपमा संचालित ३६ वटा उद्योगहरु भत्काइएको हो ।

जिल्ला अनुगमन समिति मकवानपुरले स्थलगत अनुगमन गरेर अवैध रुपमा संचालित बालुवा उद्योगहरुलाई बन्द गर्न निर्देशन दिएको जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख एवम् अनुगमन समितिका संयोजक रघुनाथ खुलालले जानकारी दिए । खुलालको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्ट, डिभिजन वन कार्यालयका प्रमुख, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतको टोलीले अनुगमन गरेर ती उद्योगहरुलाई संचालन नगर्न निर्देशन दिएको जनाइएको छ ।

अनुगमन समितिले जिल्लाको राप्ती, मनहरी, लोथर, कुखरेनी खोला लगायत अन्य खहरेहरुमा गरिएको अनुगमनका क्रममा बालुवा धुने उद्योगहरु नियम विपरित संचालन भएको पाईएकोले उद्योग संचालन नगर्न निर्देशन गरेको जनाएको छ । संयोजक खुलालका अनुसार खोला, खहरेको दोहन भइरहँदा प्राकृतिक रुपमा असर गर्नुका साथै राज्यको राजश्व गुमिरहेको पाईएपछि अनुगमन समितिले उक्त उद्योगहरु भत्काउने काम गरेको हो ।

ढुंगा, गिट्टी, बालुवा जिल्ला अनुगमन समितिले सोमबार कुखरेनी खोलामा गरिएको अनुगमनका क्रममा १० वटा अबैधानिक रुपमा संचालन भएका त्यस्ता बालुवा उद्योगहरु भत्काइएको थियो । भने मंगलबार हेटौंडा–१ स्थित चौकीटोल, हेटौंडा–११, ३ र मनहरीमा गरी करिब २२ वटा बालुवा उद्योगहरु भत्काएर नष्ट गरेको थियो । त्यस्तै बुधबार पनि अनुगमन समितिले हेटौंडा–६ र १६ नम्बर वडामा बालुवा उद्योगहरुको अनुगमन गरेर बन्द गर्नुका साथै अवैधानिक रुपले संचालन नगर्न निर्देशन दिएको छ । साथै, कतिपय स्थानबाट मेसिनरी सामान समेत नियन्त्रणमा लिईएको उनले बताए । अनुगमन समिमितिले अबको अनुगमनलाई समेत नियमितता दिने बताएको छ ।