हेटौंडा, माघ ७
उत्तरी मकवानपुरको पर्यटकीय क्षेत्र दामनको एक रिसोर्टमा अचेत अवस्थामा भेटिएका ८ भारतीयको मृत्यु भएको छ । थाहा नगरपालिका ४ सिमभञ्ज्याङस्थित होटल एभरेष्ट पानोरमा रिसोर्टमा बसेका भारतीय पर्यटक मंगलबार बिहान अचेत अवस्थामा भेटिएका थिए । लगत्तै ४ पुरुष र ४ महिला भारतीय पर्यटकलाई कैलाश एयरको हेलिकोप्टरमार्फत उद्दार गरेर काठमाडौं पठाइएको थियो ।
काठमाडौमा हेम्स अस्पतालको आकस्मिक कक्षमा उपचारका क्रममा सबैको मृत्यु भएको छ । दुई कोठा लिएर बसेका भारतीय पर्यटकहरुलाई मंगलबार बिहान बेहोस अवस्थामा फेला पारिएको हो । उनीहरू भारतको केरला प्रदेशका भएको बुझिएका छन् । अचेत रहेका ४ महिला र ४ पुरुषको पहिचान खुलेको छैन । ती पर्यटकहरु दुई कोठामा बसेको भए पनि बेहोस अवस्थामा एकै कोठामा भेटिएको प्रहरीले जनाएको छ ।
मृत्यू भएको सबैको पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ । चिसोबाट बच्न बालेको ग्यास हिटरबाट उनीहरु निसासिएर बेहोस भएको हुन सक्ने प्रारम्भिक अनुमान छ । उनीहरु नागपोखरीमा रहेको इजी कम्पनीबाट हेटौंडा आएको बुझिएको छ। उनीहरु कटेजमा बसेका थिए। टोलीमा १५ जना रहेका थिए । तीमध्ये ८ जना एउटै कोठामा सुतेका थिए । मृत्यु हुनेको सनाखत भइसकेको छैन ।