File photo

हेटौंडाः हेटौंडा उपमहानगरपालिकाले १३औं दक्षिण एसियाली खेलकुद (साग) विजेतालाई नगद सहित पुरस्कृत गर्ने निर्णय गरेको छ ।

नगर कार्यपालिकाको आज आइतबार बसेको बैठकले स्वर्ण पदक विजेतालाई १ लाख, रजत पदक विजेतालाई ७५ हजार र कास्य पदक विजेतालाई ५० हजार नगदसहित पुरस्कृत गर्ने निर्णय गरिएको मेयर हरिबहादुर महतले बताए ।

१३औं दक्षिण एसियाली खेलकुद (साग) मा मकवानपुर निवासी खेलाडीले ४ स्वर्ण, ४ रजत र ५ कास्य नेपाललाई दिलाएका थिए । करातेमा महसुस मोक्तान, फुटबलमा सुनिल बल तथा तेक्वान्दोमा सञ्जीवकुमार ओझा र निशा दर्नालले स्वर्ण पदक जितेका थिए ।

शिलु डंगोलले उसु, माया स्यांतान र निकेश मगरले बास्केटबल तथा ह्यान्डबलमा देवकुमारी बाँस्कोटाले रजत पदक जितेका थिए । कास्य पदक जित्नेमा करातेतर्फ रीता कार्की, उसुमा हरिप्रसाद गोले, खोखोमा राजन बल तथा बक्सिङमा पुरन राई र विकास लामा छन् । उनीहरुलाई एक कार्यक्रमबीच नगद पुरस्कार दिइने मेयर महतले जानकारी गराएका छन् ।

मकवानपुरे खेलाडीले राम्रो खेलेकोमा बधार्इ दिँदै मेयर महतले खेलाडीलाई थप उत्साह प्रदान गर्न पुरस्कृत गर्ने निर्णय भएको बताए । ‘मकवानपुरका खेलाडीको प्रदर्शन अत्यन्त सुखद् देखियो,’ उनले खेलक्षेत्र विकासका लागि नगरपालिका लागिरहेको भन्दै खेल विकासका लागि काम गरिने प्रतिवद्धता पनि जनाए ।