हेटौंडा, पुस २०
हेटौंडा लेडी जेसीजको साधारण सभाले सुशिला पौडेलको अध्यक्षमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । शनिबार हेटौंडामा भएको २२ औं साधारण सभाले पौडेललाई लेडी जेसीजको सन २०२० अध्यक्षमा चयन गरेको हो। सभाले हेटौंडा लेडी जेसीजको कार्यकारिणी उपाध्यक्षमा सृष्टि गोर्खाली र अञ्जना श्रेष्ठ, उपाध्यक्षमा गंगा श्रेष्ठ, लीलु पुलामी मगर, दुर्गा विष्ट ठकुरी र कविता पौडेल चयन भएका छन् ।
क्लव हेटौंडा पार्टी प्यालेसमा भएको निर्वाचन कार्यक्रममा अध्यक्षका दुई दाबेदार कल्पना कुमारी दर्लामी मगर र जुनु कार्कीको नाम नै हटाई उनीहरुलाई उम्मेदवारी दर्ता गर्नसमेत नदिइएको कार्कीले आरोप लगाएकी छिन् । तर निर्वाचन आयुक्त अस्मिता श्रेष्ठले उनीहरुले समयमा सदस्यता नविकरण नगरेको कारण दावी विरोध परेकोले सदस्यता सुचिबाट नाम हटाईएको बताईन्।