हेटौंडा: लैङ्गिक समानता सुनिश्चित गर्न छोरीको महत्वलाई प्रोत्साहन गरिएपनि व्यबहारतः त्यस्तो नभएको पाईएको छ । मकवानपुरमा कृपाले गरेको अनुसन्धानले यस्तो देखाएको हो ।
सहजै गर्भको भ्रुण के छ? भनेर पत्ता लगाउन सकिने प्रविधिको विकास भएपछि छोरा र छोरीको अनुपातमा असन्तुलन आउन थालेको अनुसन्धानको नतिजाले देखाएको छ । कृपाले मकवानपुर, भक्तपुर, रुपन्देही, अर्घाखाँची लगायत ६ जिल्लामा अनुसन्धान गरेको थियो । सामन्यतयाः छोरी एकसय जना जन्मदा छोरा १०५ जना जन्मनुसम्मको अनुपात सामान्य मानिन्छ । तर, कृपाले गरेको अनुसन्धानमा एकसय छोरी जन्मँदा १२७ जनासम्म छोराहरु जन्मेको पाईएको हो । नेपालमा गर्भपतन गर्ने अधिकारले कानूनी मान्यता पाएपछि छोरीहरुको गर्भपतन गर्ने दर बढेको कृपाको अनुसन्धान अधिकृत सुशील नेपालले बताए ।
कृपाले १ हजार ९ सय ८० जना आमाहरुमा छोराछोरीको चाहनाबारे अनुसन्धान गरेको थियो । अनुसन्धानमा सहभागी ५८ प्रतिशत महिलाले १८ हप्ताको गर्भ मै बच्चा छोरा वा छोरी के छ? भन्ने जानकारी पाउने गरेको पाईएको थियो । सहजै भिडियो एक्सरे गर्न सकिने सुबिधाले पनि लिङ्ग पहिचान र गर्भपतन बढेको सहभागीले बताए । मकवानपुरमा पनि अनुसन्धानमा सहभागीले २५ प्रतिशत महिलाले बच्चा जन्मनु अगावै लिङ्गको बारेमा जानकारी लिने गरेको पाइयो । मकवानपुरबाट अनुसन्धानमा सहभागी ९३ प्रतिशत महिलाहरुले आफूलाई श्रीमानले छोराको लागि दबाब दिने गरेको बताए ।
निसन्तान दम्पत्तीले पनि धर्मसन्तानको रुपमा ग्रहण गर्दा छोरा नै बढी प्राथमिकतामा पर्ने गरेको माइती नेपाल मकवानपुरका प्रमुख माया लामाले बताइन् । बालकल्याण समाज मकवानपुरको समन्वयमा भएको विभेदपुर्ण लैङ्गिक छनौट अन्त्यको लागि अनुगमन तथा मुल्यांकन ढाँचाबारे प्रदेश स्तरीय बैठकमा सहभागीहरुले नीति निर्माण तहम नै यसबारे सवाल पुग्नुपर्ने बताए । कार्यक्रममा परिवार नियोजन संघ चितवनका प्रबन्धक मुरारी रैलाले लिङ्ग छनौटका आधारमा गर्भपतन गर्न नपाईने सवाल अझै प्रचारप्रसार गरिनुपर्ने बताए ।
यसबारे सरकारी तहमा राष्ट्रिय रणनीतिक योजनामा नै यो बिषय समेटिनु पर्ने कृपाका निर्देशक आनन्द तामाङले बताए । अबिवाहित महिलामा जबर्जस्ती करणीबाट बसेको गर्भपनि छोरा भएमा जन्माउन चाहना राख्ने गरेको सहभागीले बताएका थिए । कार्यक्रममा प्रदेश ३ सामाजिक बिकास मन्त्रालय स्वास्थ महाशाखाका गोपाल बजगाईंले लिङ्ग पहिचान गर्न नपाईने कानूनलाई ब्यवहारिक गराउन अझै बढी कसरत गर्नुपर्ने बताए । अस्पतालमा विभेद विरुद्धको परामर्श अस्पतालमा नै आवश्यक भएको हेटौंडा अस्पताल अध्यक्ष प्रकाश पौडेलले बताए ।
कार्यक्रममा प्रदेश सभा सदस्य जुनेली श्रेष्ठले अनुसन्धानको नतिजाले नीति निर्माण तहलाई झकझक्याउनु पर्ने बताइन् । अहिले छोराको मात्रै चाहना राख्नाले सामाजिक सोचको कारण भोलि देशमा जनसंख्या अनुपात बिग्रदा ठूलो समस्या आउने प्रदेश सभा सदस्य श्रेष्ठले बताइन् । आगामी दिनमा यस्ता बिभेदपुर्ण लिङ्ग छनौट कार्यको अन्त्यको लागि सबैको ऐक्यबद्धता आवश्यक भएको बालकल्याण समाजका प्रमुख प्रकाश खतिवडाले बताए । – जनपत्रबाट