हेटौंडाः मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा आज बुधबार विमान दुर्घटनाको आशंकामा सरोकारवालाहरुको दौडधुप चल्यो । बकैया गाउँपालिका–१२, स्थित बतासे डाँडामा धुवाँको मुस्लो देखिएपछि स्थानीयले विमान दुर्घटनाको आशंकामा प्रहरीलाई खबर गरेका हुन् ।
खबरको आधारमा प्रहरी त्यसतर्फ गएको र आगलागी भएको पाईएको मकवानपुर प्रहरीले जनाएको छ । प्रहरी हवल्दार कमलदेब प्रसाद यादबको नेतृत्वमा गएको टोलीले जंगलमा आगलागी भएको जानकारी दिएपछी प्रहरी प्रमुख मुकेश कुमार सिंहको टोली बाटोबाट नै फर्केको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
बाटोमा जाँदै गर्दा मकवानपुरमा कुनैपनि हवाई दुर्घटना नभएको त्रिभुवन विमानस्थल कार्यालयले बताएपछी आफ्नो टोली फिर्ता भएको प्रहरी प्रमुख सिंहले बताए । मानबबस्तीबाट टाढा रहेको जंगलबाट ठूलो धुवाँको मुस्लो निस्किएकोले हवाई दुर्घटनाको आशंका भएको हुनसक्ने उनको भनाई छ ।
स्थानीयको खबरसँगै विभिन्न अनलाईनहरुले समेत बिमान दुर्घटनाको कुरा लेखेपछि प्रहरी टोली त्यसतर्फ प्रस्थान गरेको जनाइएको छ । स्थानीयवासीले ठूलो आवाजसहित धुवाँको मुस्लो देखेपछि विमान दुर्घटना भएको हुनसक्ने बताए पनि त्यस्तो कुनै दुर्घटना नभएको प्रहरीले पुष्टि गरेको छ ।