हेटौंडा, पुस ६
मकवानपुरमा भुकम्पले ढलेका घरहरु १४ हजार १ सय ३५ घरहरु निर्माण भएका छन् । जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान व्यावस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयको आयोजनामा आईतबार हेटौंडामा आयोजित अन्तरक्रिया तथा छलफल कार्यक्रमका अवसरमा यसबारेमा जानकारी दिइएको हो ।

जिल्लामा पहिचान भएका कुल लाभग्राही भुकम्प पीडित ३४ हजार ३ सय १९ परिवार मध्येमा आधा भन्दा कम मात्रैले घर निर्माण गरेको इकाइका प्रमुख विमल किशोर केपीले जानकारी दिए । यस मध्येमा प्रथम किस्ता प्राप्त गर्ने भुकम्प पीडित २९ हजार ५ सय ५ परिवार रहेका छन् भने दोस्रो किस्ता प्राप्त गर्ने भुकम्प पीडित २३ हजार ४ सय ६६ परिवार रहेका छन् । यसैगरी तेस्रो किस्ता प्राप्त गर्ने भुकम्प पीडित १८ हजार ६ सय परिवार रहेको उनले जानकारी दिएका हुन् ।

मकवानपुरमा विद्यालय निर्माणको क्षेत्रमा पनि उल्लेख्य प्रगती भएको डीएलपीआइयु शिक्षाका प्रमुख वद्री बहादुर पाठकले बताए। भुकम्पले पूर्ण रुपमा क्षति भएका विद्यालय भवन निर्माणको काम केही नगन्य मात्रमा भन्दा बाहेक सवैतिर द्रुत गतिमा निर्माण भएको पाठकले बताए । कार्यक्रममा डीउलपीआइयु भवनका प्रमुख तुलसीराम खरबुझा, नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ३ का अध्यक्ष प्रताप विष्ट लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।