हेटौंडाः मकवानपुर जिल्लाको मनहरी गाउँपालिका नेपालकै पहिलो बालमैत्री स्थानीय तह घोषणाको अन्तिम तयारीमा जुटेको छ ।

बालमैत्री स्थानीय शासनका न्यूनतम ३९ सूचक पूरा गरिसकेपछि बालमैत्री स्थानीय तह घोषणा गर्न सकिन्छ । जस अनुसार धेरैजसो वडामा न्यूनतम सूचक पूरा गरिएको मनहरी गाउँपालिकाले जनाएको छ । यही पुस २५ गते बालमैत्री गाउँपालिका घोषणाको तयारीमा मनहरी रहेको र यस सम्बन्धी धेरै काम सकिएको मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला विष्टले जानकारी दिइन् ।

बालमैत्री क्षेत्र घोषित हुन संस्थागत विकास तर्फको सूचक १२ वटा र सेवा प्रवाह सम्वन्धी २७ वटा सूचक २७ वटा गरी ३९ सुचक पूरा हुनुपर्ने बालबालिकाको क्षेत्रमा कार्यरत सिविन बाल हेल्पलाईनका जिल्ला कार्यक्रम संयोजक झविन्द्र ज्ञवालीले जानकारी दिए । बालमैत्री स्थानीय शासन कार्यान्वयन कार्यविधि–२०६८ सम्बन्धी जानकारीका लागि बुधबार हेटौंडामा आयोजित कार्यक्रममा सो सम्बन्धी पत्रकारहरुलाई अभिमुखीकरण दिँदै कार्यक्रम संयोजक ज्ञवालीले मनहरीका साथै बकैया गाउँपालिकामा पनि बालमैत्री स्थानीय तह सम्बन्धी काम तीब्र गतिमा अघि बढेको बताए ।

बालमैत्री स्थानीय शासन कार्यान्वयन कार्यविधि–२०६८ सम्बन्धी जानकारीका लागि शिविन बाल हेल्पलाइनले बुधबार हेटौंडामा आयोजना गरेको कार्यक्रममा पत्रकारहरुलाई सो सम्बन्धी जानकारी दिँदै कार्यक्रम संयोजक ज्ञवाली

बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति र बालमैत्री स्थानीय शासन कार्यान्वयन कार्यविधि- २०६८ अनुसार मकवानपुरको बकैया गाउँपालिकाले समेत आधाभन्दा बढी बालमैत्री सूचक पूरा गरिसकेको छ ।

बालमैत्री सुचक पूरा गर्ने तथा कार्यान्वयन गर्ने निकायहरूमा स्थानीय निकाय, स्वास्थ्य संस्था, महिला संघ संस्था, घरपरिवार, प्रहरी, बाल कल्याण समिति, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय लगायत सबैको संयुक्त प्रयासमा प्राप्त गर्न सकिने कार्यक्रम संयोजक ज्ञवालीले बताए ।