हेटौंडाः आवश्यक कागजपत्र नभएको भन्दै नियन्त्रणमा लिइएको बस जरिवाना लिई फिर्ता गरिएको छ । मंगलबार मनहरी–७ मनहरी बगरबाट नियन्त्रणमा लिएको बसहरुलाई बुधबार छाडिएको हो ।

कैलाश तथा राक्सीराङ गाउँपालिकाको विभिन्न स्थानमा सञ्चालित बसहरुको आवश्यक कागज पत्र नभएको भन्दै ईलाका प्रहरी कार्यालय मनहरीले मंलबार १८ वटा बसहरुलाई नियन्त्रणमा लिएको थियो । बुधबार ईलाका प्रहरी कार्यालय मनहरी परिसरमा बसका धनीहरु, प्रहरी तथा विभिन्न सरोकारवालाहरुबीच भएको छलफलमा पौष मसान्तसम्म आवश्यक सबै कागजपत्र पूरा गरी सञ्चालन गर्ने सहमतिपछि नियन्त्रणमा लिएको बसहरुलाई जरिवाना लिई छाडिएको मनहरीका प्रहरी प्रमुख श्रीशंकर श्रेष्ठले जानकारी दिए ।

तोकिएको समयसिमा भित्रमा सहमति अनुसार प्रक्रिय पूरा नभए अझ कडा कारबाही गरिने प्रहरी प्रमुख श्रेष्ठले बताए । मंगलबार ना.४ ख ५३७३, ना.४ ख ७६३, ग.१ ख ४३३९, ना.३ ख ५०७४, ना.७ ख ७१८२, ना.४ ख १८५१ ना.४ ख २७५ र ना.२ ख ७८७९ नम्बरको बस प्रहरीले नियन्त्रणमा लिएको थियो ।

मनहरीको बगर हुँदै राक्सीराङ तथा कैलाशको विभिन्न स्थानमा सञ्चालन हुने सवारी साधनहरुको कागज पत्र छैनन् । ती सवारी साधानहरुलाई क्रमशः नियन्त्रमा लिई कानुनी कारबाही गरिने मनहरीका प्रहरी प्रमुख श्रेष्ठको भनाई छ ।

विना कागजपत्र यातायातका साधनहरु सञ्चालन हुँदै आइरहेको लामो समयपछि यसमा प्रहरीको पहिलो पटक ध्यान गएको हो । मंगलबार प्रहरीले राक्सीराङको सरिखेत पलाँसे, मादल सिं खैराङ खाइचा तथा कैलाश गाउँपालिकाको कालिकाटार पुग्नका लागि गाडी चढेर ठिक्क परेर बसेका यात्रुहरु अलपत्र परेका थिए ।