पटकपटक विवाद र आलोचना सहँदै आएको प्रदेश ५ को राजधानी तथा नाम सिफारिश विशेष समितिले प्रदेशको नाम लुम्बिनी राख्न प्रदेश सभालाई सिफारिस गर्ने भएको छ ।
समितिको आईतबार बसेको बैठकले राजधानी र नामको टुंगो लगाउँदै प्रदेश सभालाई सिफारिश गर्ने निर्णय गरेको हो । समितिले गरेको सिफारिस प्रदेश सभाको बैठकको दुई तिहाईले पारित गर्नुपर्ने प्रावधान छ ।
विशेष समितिका एक सदस्यका अनुसार प्रदेशको राजधानी यहीँ उपयुक्त छ भनेर तोकिएको छैन । तर मध्यमार्गी बाटो अपनाउँदै समितिले रूपन्देही, कपिलवस्तु र दाङका स्थानलाई सिफारिश गरेको छ । “हामीले विवाद नआओस् भन्ने हिसावले मध्यमार्गी बाटो अपनाएका छौं” समितिका एक सदस्यले भने, त्यसको टुंगो अब प्रदेश सभाले नै लगाउँछ ।” समितिले रुपन्देहीको बुटवल– सैनामैना, कपिलवस्तुको वाणगंगा बुद्धभूूूमि तथा दाङको भालुवाङ लमही क्षेत्र प्रस्ताव गरेको समितका एक सदस्यले बताए। विशेष समिति सो प्रतिवेदन सभामुखलाई बुझाउने तयारीमा जुटेको छ । पछिल्लो पटक भारत भ्रमण सकेपछि समितिका सदस्यहरु प्रतिवेदन बनाउन जुटेका हुन्।
समितिका सभापति दीपेन्द्रकुमार पुन मगरले प्रतिवेदनलाई अन्तिम रुप दिन थालिएको भन्दै सोमबार प्रतिवेदन बुझाउने गरी तयारी भएको बताए । उनका अनुसार आइतबारको समितिको बैठकमा भारत भ्रमणको समिक्षा गर्दै उपलब्धिका बारेमा छलफल भएकोे थियो । विशेष समितिले यही मंसिर २१ गते देखि २७ गतेसम्म भारतको चण्डीगढ भ्रमण गरेको थियो । समितिले यस अघि जिल्ला जिल्लामा गएर सुझाव संकलन पनि गरेको यो । राजधानीका लागि बुटवल, दाङ, कपिलवस्तुलगायतका स्थानका लागि सुझाव दिइएको थियो।