हेटौंडा,२४ मंसीरः ३ नम्बर प्रदेश सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले सरकारले घोषणा गर्दैमा सामाजिक रुपान्तरण नहुने भन्दै यसका लागि सबैले आफ्नो ठाउँबाट प्रयास गर्नुपर्ने बताएका छन् ।
आज हेटौंडामा आयोजित एक कार्यक्रमका सहभागीहरुलाई सम्बोधन गर्दै उनले सामाजिक अभियानमा सबैले कर्तव्यवोध गरी लाग्नुपर्ने बताएका हुन् । कार्यक्रममा बोल्दै उनले भने, ‘सामाजिक अभियान भनेको राज्यले घोषणा गरेर नहुने रहेछ । सबैले कर्तव्यवोध गर्नुपर्ने हो । त्यसो गर्ने हो भने यो टाढा छैन ।’ अपांगता भएका नागरिक, टुहुरा बालबालिका लगायत राज्य अभिभावक बनिदिनु पर्ने अवस्थाका नागरिकको सुरक्षा दिन सरकार तयार रहेको स्पष्ट पार्दै उनले अवस्था हेरी सामाजिक दायित्व निर्वाह गर्नुपर्ने ठाउँमा सरकार आफ्नो दायित्व निभाउन तयार रहेको बताए ।
आफूले देखे/भोगेका विभिन्न घटनाहरुको दृष्टान्त प्रस्तुत गर्दै उनले हाम्रो समाजको चरित्रमाथि प्रश्न गरे । ‘हामी कहाँ छौँ?, हामीले आफ्नो नैतिकता किन भुल्छौं?’ उनले प्रश्न गरे । मानवीयता र नैतिकता नभुली आफ्नो ठाउँबाट सबैले प्रयास गर्ने हो भने हिंसा तथा विभेदरहित समाजको परिकल्पना साकार पार्न धेरै समय नलाग्ने मन्त्री ढुंगेलको भनाई छ ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मिनाकुमारी लामाले नागरिकको सामाजिक सुरक्षाका सवालमा स्थानीय सरकार संवेदनशील भएको दावी गरिन् । केही दिनभित्रै हेटौंडा उपमहानगरपालिकाले जेष्ठ नागरिकका लागि व्यवस्थापन गर्न कार्यविधि बनाइसक्ने जानकारी दिँदै उपमेयर लामाले सो कार्यविधिमाथि सरोकारवाला पक्षसँग छलफल गर्ने पनि बताइन् ।
कार्यक्रममा अधिकारकर्मीहरु जमुना तितुङ, आरती पाठक, राम मिजार, मञ्जु रोक्का, साधुराम चौलागाईं लगायतले आफ्नो क्षेत्रमा देखिएका समस्या, सम्बन्धित समुदाय तथा वर्गको गुनासा र जिज्ञासा राखेका थिए ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका सामाजिक विकास शाखा प्रमुख भीम तिमल्सिना र सामाजिक सुरक्षा नागरिक समाज सञ्जालका सदस्य तिलोत्तम पौडेलले सम्बन्धित विषयमा प्रस्तुतीकरण दिएका थिए । बाल कल्याण समाज मकवानपुरका कार्यक्रम संयोजक प्रकाश खतिवडाले कार्यक्रमको उद्देश्यबारे जानकारी गराउँदै कार्यक्रममा सहभागीहरुलाई स्वागत गरे । सामाजिक सुरक्षा नागरिक समाज सञ्जालका अध्यक्ष डोल्मा तामाङको सभाध्यक्षतामा सामाजिक सुरक्षामा नागरिक समाजको चासो जनसरोकार, जिज्ञासा र गुनासोको बारेमा सरोकारवालाको संवाद कार्यक्रम भएको हो ।
सामाजिक सुरक्षा नागरिक समाज सञ्जालको आयोजना तथा बाल कल्याण समाज मकवानपुरको समन्वयमा भएको कार्यक्रममा मन्त्री कैलाश ढुंगेल प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा जिल्लास्थित विभिन्न संघ, संस्थाका प्रतिनिधि, जनप्रतिनिधि एवम् अन्य सरोकारवालाहरु सहभागी थिए ।