हेटौंडा,२४ मंसीरः नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता रहेका मकवानपुर थाहा नगरपालिका–४ का पृथ्वीराज अधिकारीले पार्टी परित्याग गरेको घोषणा गर्दै सामान्य जीवन जिउन चाहेको बताएका छन् ।
आज हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरी अधिकारीले पार्टी त्यागेको र राज्यको नियम कानून मानेर बस्ने बताएका हुन् । ५५ दिनसम्म प्रहरी हिरासतमा रहेका उनी हिजो अर्थात् मंसिर २३ गते रिहा भएका थिए ।
प्रहरी हिरासतबाट रिहा भएको भोलीपल्टै आफ्ना बाबु जयराम अधिकारीको साथमा पत्रकार सम्मेलनमा देखिएका उनले हिरासतमा आफूलाई प्रहरीले यातना दिएको, कुटपिट गरेको बताए । विप्लव कार्यकर्ता भएको आधारमा विभिन्न आरोप लगाउँदै पटक पटक गरी दुई वर्षभित्र ४ पटक नियन्त्रणमा लिइएको उनले सुनाए । ‘आगजनी, मापसे, होहल्ला लगायत विभिन्न झुठा मुद्दामा मलाई फसाइएको थियो’, उनले भने ।
अन्तिम पटक पक्राउ पर्दा प्रहरी नियन्त्रणमा रहेको २५ दिनमा रिहा भएका थिए । रिहा भएलगत्तै गेटबाटै उनलाई प्रहरीले अर्को आरोपमा पक्राउ गरेपछि ५५ दिन प्रहरी हिरासतमा बस्नुपरेको थियो ।