३ नं. प्रदेश सभा सदस्य मुनु सिग्देल, जिल्ला समन्वय समिति मकवानपुरका उपप्रमुख भगवती पुडासैनी र मकवानपुरको विभिन्न स्थानीय तहका उपप्रमुखहरु

हेटौंडा : विहान सबैरै उठेर घरधन्दा। विद्यालय जाने छोरीका लागि खाजा र खानाको बन्दोवस्त गरेपछि बल्ल निर्मला राईलाई घर बाहिर निस्कने बाटो खुल्छ। २९ वर्षीया उनी एकल महिला हुन्। मकवानपुरको बकैया गाउँ कार्यपालिका सदस्य निर्मलाका दुई छोरी छन्। सानै उमेरमा विवाह गरेकी उनको श्रीमान् बितेपछि जीवन र दैनिकी निकै कष्टपूर्ण बनेको छ। श्रीमान् बितेपछि परिवार र समाजको थप निगरानी। कानेखुसी। तापनि उनले यी सब कुराको परवाह नगरी सामाजिक काममा सक्रिय हुँदै राजनीतिमा लागेकी हुन्।

वडा सदस्य हुँदै गाउँपालिका सदस्यको जिम्मेवारी निर्वाह गरेकी उनले भनिन्, ‘गाउँघरमा कुरा काट्ने मानिस हुन्छन्। कहाँ गई ? कति बेला आई ? अनेक कुरा गर्छन्। महिला त्यसमाथि सानै उमेरमा एकल भएर समाजमा पुरुषसँगै प्रतिस्पर्धा गर्नु चुनौती छ।’ उनीमात्र होइन, भान्सा र घरायसी कामका लागि अधिकांस जनप्रतिनिधि महिला एक्लै हुन्छन्। ‘जस्तै कार्यक्रम परे पनि घरको काम सकेर बच्चालाई स्कूल पठाएर मात्र निस्कन्छु’, बकैया गाउँपालिकाकी उपाध्यक्ष सरला बोलखेले भनिन्, ‘फरक जिम्मेवारीले पनि घरको कामबाट उम्कन मुश्किल पर्छ।’

जनप्रतिनिधि महिलाले घरायसी काम, आफ्नो जिम्मेवारीसहित राजनीति तथा सामाजिक कामलाई ध्यान दिनुपरेको छ। ‘काम सकेर राति जतिबेला घर पुगे पनि भान्सामा नबसी भात पाक्दैन’, जिल्ला समन्वय समिति मकवानपुरकी उपप्रमुख भगवती पुडासैनीले भनिन्, ‘जुन पदमा पुगे पनि घरमा गएपछि बुहारी, श्रीमति नै हो। परिवारबाट जति सहयोग भए पनि महिलालाई सजिलो छैन।’

संघ, प्रदेश र स्थानीय तीनै तहको सरकारमा महिला सहभागितालाई संविधानले सुनिश्चित गरेको छ। तर, कतिपय व्यवहारिक, सामाजिक एवं सांस्कृतिक कारणले महिला अघि बढ्न समस्या रहेको नेकपा मकवानपुरकी नेतृ लक्ष्मी माझीले बताइन्। ‘राजनीतिमा महिलालाई सहजै स्वीकार गरिँदैन। उनीहरुसँग विचार र तर्क छ भनेर विश्वास गरिँदैन’, उनले भनिन्, ‘जुन पदमा पुगे पनि, जतिसुकै व्यस्त भए पनि घरायसी काममा महिलाकै अपेक्षा गरिन्छ।’ –अन्नपुर्णपोस्टबाट