हेटौंडाः “समानताको पुस्ताः बलात्कार बिरुद्धको ऐक्यबद्धता” भन्ने मूल नाराका साथ लैंगिक हिंसा बिरुद्ध १६ दिने अन्तर्राष्ट्रिय अभियान मनाइरहँदा बकैया गाउँपालिकामा महिला जनप्रतिनिधि र महिला पत्रकारहरुबीच अन्तरक्रिया कार्यक्रम भएको छ ।

बकैया गाउँपालिकाकी उपाध्यक्ष सरला बोलखेको सभाध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा गाउँपालिकाका कार्यपालिका सदस्य तथा वडा सदस्य महिला जनप्रतिनिधिहरु सहभागी थिए । कार्यक्रममा आफ्नो अनुभव सुनाउँदै बकैया गाउँ कार्यपालिका सदस्य लक्ष्मीमाया माझीले महिलाहरुलाई राजनीतिमा स्वीकार नगरेको आभाष भएको बताइन् । मिडियामा विचार दिने राजनीतिक वक्ताको रुपमा आफूले महिला नेतृहरु नदेखेको भन्दै उनले राजनीतिमा महिलालाई समाजले जबर्जस्त स्वीकारेको अनुभव व्यक्त गरिन् ।

कार्यक्रममा गाउँ कार्यपालिका तथा वडा सदस्य महिलाहरुले आफ्नो राजनीतिक अनुभव, पारिवारीक अवस्था तथा जनप्रतिनिधि भएपछिका आफ्ना अनुभव सुनाएका थिए । कार्यक्रमको उद्देश्यबारे स्पष्ट पार्दै बकैया गाउँपालिकाकी उपाध्यक्ष सरला बोलखेले महिला भएकै कारण आफूले भोग्नुपरेका फरक अनुभव आदानप्रदानको लागि जमघटको व्यवस्था मिलाइएको बताइन् ।

कार्यक्रममा सहभागीहरुलाई सम्बोधन गर्दै उपाध्यक्ष बोलखेले समाजमा महिलाका विभिन्न खालका पीडा र बाध्यताहरु देखेका कारण उनीहरुको आर्थिक अवस्था सुधारमा जोड दिन राजनीति गर्ने प्रेरणा मिलेको बताइन् । ‘गाउँमा जाँदा महिलाहरु कम्मरमुनि मात्र कपडा लाएर हिँडेको देखेँ, आधा जिउ नाङ्गा दिदीबहिनीहरुको अवस्थाले मलाई राजनीति गर्नुपर्छ भन्ने प्रेरणा मिल्यो’, उपाध्यक्ष बोलखेले भनिन् ।

पालिकाले महिलाहरुको आर्थिक स्थिति माथि उकास्न र आत्मनिर्भर बनाउनका लागि आयमूलक काममा लाग्ने किसिमको तालिम, मेसिन, औजार तथा प्रेरणा दिने गरेको पनि उनले बताइन् । कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुरकी उपाध्यक्ष सरिता दाहालले महिला पत्रकारको पेशागत समस्या तथा आफ्नो अनुभव प्रस्तुत गरिन् ।

सो अवसरमा महिला तथा बालबालिका शाखाकी कविता भट्टले सो शाखामार्फत सञ्चालन भएको कार्यक्रम तथा गतिविधिबारे जानकारी दिएकी थिइन् । कार्यक्रममा होम कुमारी सुवेदीले स्वागत मन्तव्य व्यक्त गरिन् ।