हेटौंडाः मुलुक संघीय संरचनामा गएपछि हेटौंडामा भएको जिल्ला कृषि कार्यालय कृषि ज्ञानकेन्द्रको रुपमा परिणत भएर चितवनमा गएपछि मकवानपुरका किसानलाई समस्या परेको किसानको अनुभव छ ।
नेपाल बीउ व्यवसायी संघ मकवानपुरको हेटौंडामा सम्पन्न छैठौं साधारणसभाका सहभागीहरुले कृषि ज्ञानकेन्द्र हेटौंडामै हुनु जरुरी रहेको बताएका हुन् ।
संघका अध्यक्ष हरिशरण अर्यालको अध्यक्षतामा भएको साधारणसभाका वक्ताहरुले बीउ उत्पादनमा नेपाल सरकार अनुदार भएका कारण गुणस्तरहीन बीउ भित्रिएको बताए ।
बिदेशी र गुणस्तरहीन बीउ निर्बाध रुपमा भित्रिनुको पछाडि सरकारी नीति अनुदार रहेको बीउ व्यवसायी संघका केन्द्रीय सचिव विश्वराज बानियाँले बताए । विषादी व्यवसायी संघ मकवानपुरका अध्यक्ष विजयकुमार कनोडियाले नेपाली बीउको उपभोग्य मिति एक वर्ष, भारतीय बीउको उपभोग्य मिति ९ महिना, थाईल्याण्डको बीउको उपभोग्य मिति २ वर्ष भनेर उल्लेख गरिने कारणले किसान समस्यामा पर्ने गरेको बताए ।
बीउ व्यवसायी संघ मकवानपुरका सचिव रमेश अर्याल, कोषाध्यक्ष सुभाष मल्लले सचिव तथा कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए । साधारणसभाले माधव सुवेदीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा सुभाष मल्ल, सचिवमा रमेश अर्याल र कोषाध्यक्षमा मदन न्यौपाने चयन भएका छन् । समितिको सदस्यहरुमा कृष्णकाजी प्रधान, फेन्चु लामा, अनिता अधिकारी, बच्चुराम ढुंगाना र कृष्णप्रसाद खतिवडा चयन भएका छन् ।