हेटौंडा,१० मंसीरः मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले गाउँपालिकाका जनताहरुको शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकार सुनिश्चिततालाई सँधै प्राथमिकतामा राख्ने गरेको दावी गरेका छन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले मकवानपुरको मनहरी गाउँपालिकामा सञ्चालन गर्ने तीनबर्षे परियोजनाबारे जानकारी दिने उद्देश्यले गाउँपालिकाका जनप्रतिनिधि तथा सरोकारवालाहरुसँग आज मनहरीमा भएको छलफललाई सम्बोधन गर्दै अध्यक्ष उप्रेतीले यस्तो बताएका हुन् ।

गाउँपालिकाको ३० प्रतिशत क्षेत्र विकट र उक्त क्षेत्रका मानिसहरुमा चेतनाको स्तरसमेत न्यून रहेको दृष्टान्त दिँदै अध्यक्ष उप्रेतीले परियोजना सञ्चालनको क्रममा त्यस्ता नागरिकको चेतना स्तरलाई माथि उठाउने गरी काम गर्न सुझाव दिए ।

अध्यक्ष उप्रेतीसहित उपाध्यक्ष मनिला बिष्ट, मनहरी गाउँपालिका अन्तर्गतका ९ वटै वडाका अध्यक्षहरु, शिक्षा, स्वास्थ, कृषि शाखाका प्रमुख, विद्यालयका प्रधानाध्यापक, पत्रकार लगायत स्थानीय सामाजिक क्षेत्रका व्यक्तिहरुलाई भेला गराई इन्सेकले परियोजनाबारे जानकारी गराएको हो । मकवानपुरको हेटौंडा उपमहानगरपालिका र मनहरी गाउँपालिका गरी दुई वटा स्थानीय तहमा इन्सेकले तीन बर्षे परियोजना सञ्चालन गर्न लागेको हो ।

स्थानीय जनतालाई सचेत बनाउँदै जिम्मेवार निकायलाई जवाफदेही बनाउने (इएलपी) परियोजना अन्तर्गत इन्सेकले मनहरीमा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारको क्षेत्रमा पैरवी गर्ने गरी तीन वर्षे कार्यक्रम सञ्चालन गर्न लागेको परियोजना संयोजक गणेश भण्डारीले जानकारी दिए ।

कार्यक्रममा बोल्दै पशुपति मावि हाँडीखोलाका विद्यालय व्यवस्थापन समिति अध्यक्ष माधव गौतमले राज्यले निःशुल्क शिक्षा भनिरहँदा दरबन्दी र शिक्षकको अभावले विद्यालय निजी स्रोतबाट सञ्चालन गर्नुपरेको बताए । परियोजना संयोजक गणेश भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीय सहजकर्ता सरीता दाहालले सहजीकरण गरेकी थिइन् ।