हेटौंडा,३ मंसिरः हेटौंडा उपमहानगरपालिका–१८, हर्नामाडीमा रहेको गोरक्षनाथ माविलाई प्राविधिक शिक्षालय बनाउनको लागि आज मंगलबारबाट श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ सुरु गरिएको छ । महायज्ञको सुरु दिन आज २२ लाख ५० हजार रुपैयाँ सहयोग संकलन भएको आयोजकले जनाएको छ ।

सप्ताह ज्ञान महायज्ञ मूल समारोह समितिका अध्यक्ष एवम् ३ नम्बर प्रदेश सभा सदस्य ईन्द्रबहादुर बानियाँको अध्यक्षता तथा ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यतामा सप्ताह उद्घाटन गरिएको हो ।

महायज्ञ उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले सरकारी विद्यालयहरुले भौतिक पूर्वाधारका साथै गुणस्तरीय शिक्षा दिएर निजी विद्यालयहरुलाई निरुत्साहित पार्नुपने धारणा राखेका छन् ।
गुणस्तरीय शिक्षाको लागि विद्यालयका शिक्षक र विद्यालय व्यवस्थापन पक्षको महत्वपूर्ण भूमिका रहेको भन्दै मुख्यमन्त्री पौडेलले यसतर्फ ध्यान दिन आग्रह गरे ।

मंसिर १० गतेसम्म पण्डित दिनबन्धु पोख्रेलले बाचन गर्ने सप्ताह ज्ञान महायज्ञमा प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी, हेटौंडा–१८ का वडाअध्यक्ष अनिल बानियाँ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शैलेन्द्रराज बानियाँ, समाजसेवी हर्क रम्तेल, त्यसै विद्यालयकी कक्षा २ मा अध्ययनरत छात्रा कुसुम भोम्जन लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

महायज्ञमा विद्यालयका संस्थापक अध्यक्ष सुरेन्द्रराज बानियाँले १० लाख रकम बराबरको एक कट्टा जग्गा दान गरे । त्यस्तै, समितिका अध्यक्ष बानियाँले १ लाख, हेटौंडा–१८ का मुक्तप्रसाद चौलागाईंले २ लाख ५१ हजार, विद्यालयका शिक्षक कर्मचारीहरुले ४ लाख ८ हजार, विद्यालयका संस्थापक जगतबहादुर थापाले ५ लाख रुपैयाँ सहयोग गरेको आयोजकले जनाएको हो ।

विद्यालयले प्राविधिक शिक्षा संचालनको लागि महायज्ञ लगाएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शैलेन्द्रराज बानियाँले जानकारी दिए । महायज्ञमा करिब २ करोड संकलन गर्ने लक्ष्य रहेको अध्यक्ष बानियाँले बताए ।