हेटौंडा,१ मंसीरः कर्तव्य ज्यान मुद्धामा जन्मकैदको सजाय काटिरहेका भीमफेदी कारागारका एक कैदी गएराती फरार भएपछि आशंका जन्माएको छ ।

१२ फिटभन्दा अग्लो पर्खाल तथा बलियो तारजाली रहेको दावी गरिएको मकवानपुरको भिमफेदी कारागारबाट कैदी भागेपछि यहाँको व्यवस्थापनमा आशंका गरिएको हो । जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्धामा २० वर्ष जेल तोकिएका धामी विगत ५ वर्षदेखि सजाय काट्दै आएका थिए ।

गएराती कारागारबाट पर्खाल नाघेर कैदी भागेको कारागार प्रशासनले पुष्टि गरेको छ । प्रशासनका अनुसार २० वर्षको जेल सजाय तोकिएका ३० वर्षीय कुलदिप राज धामी शनिबार राती जेलबाट भागेका हुन् । कारागारका प्रमुख जेलर प्रकाश खनालले कैदीलाई भगाउन कसैको सहयोग रहेको आशंका गरेका छन् ।

कारागार वरिपरी १२ फिटभन्दा अग्लो पर्खाल रहेको भन्दै उनले पर्खाल नाघेर भाग्न एक्लैको प्रयास सम्भव नरहेको बताए । यस सम्बन्धमा अनुसन्धान भइरहेको प्रमुख जेलर खनालले बताए । पर्खालको एउटा भागमा सानो ग्याप रहेको र त्यहाँ तार तानिएको भेटिएकाले धामी त्यहीँबाट भागेको हुनसक्ने आशंका गरिएको छ ।

धामीको खोजीका लागि उनको स्थायी घर चितवन र पुरानो ठेगाना सुनसरीमा समेत अर्लट गरिएको प्रमुख खनालले जानकारी दिएका छन् । कारागारमा रहेका कैदीहरुको आन्तरिक प्रशासनले राती पौने १० बजे आफुलाई खबर गरेपछि तत्कालै खोजी कार्य अघि बढाइएको उनले जानकारी दिए ।