हेटौंडा,२९ कात्तिकः लामो समयदेखि विद्युत महशुल नतिर्ने हेटौंडामा सञ्चालित २० वटा उद्योग कारबाहीमा परेका छन् । नेपाल विद्युत प्राधिकरणले ती उद्योगको विद्युत लाईन काटी कारबाही प्रक्रिया अगाडि बढाएको हो ।

विद्युत वितरण केन्द्र हेटौंडाले पटक–पटक ताकेता गर्दा पनि महशुल नबुझाएपछि विद्युत लाइन काटेर कारबाही गरिएको केन्द्रका प्रमुख योगेन्द्र ठाकुरले जानकारी दिए । ती उद्योगहरुमा १ लाख रुपैयाँदेखि २ लाख रुपैयाँसम्म बक्यौता रहेको हुँदा लाइन काटिएको केन्द्रले जनाएको छ । २० उद्योगमा गरी २२ लाख रुपैयाँ राजश्व लिन बाँकी रहेको केन्द्र प्रमुख ठाकुरले जानकारी गराएका छन् ।
कार्यालयका अनुसार हेटौंडामा करिब ६० हजार विद्युत मिटर लिने ग्राहक रहेकोमा उनीहरुले मासिक १७ करोड रुपैयाँ शुल्क केन्द्रलाई बुझाउँदै आएका छन् । बक्यौता रकम नतिर्ने औद्योगिक तथा व्यावसायिक प्रतिष्ठानहरुलाई कालोसूचीमा राखी महशुल उठाउने गरिएको छ ।
त्यस्तै, हेटौंडामा रहेको शिवम् सिमेन्ट उद्योगमाथि विगत ४ वर्षदेखि बक्यौता रहेको १ अर्ब २९ करोड विद्युत महशुल तिर्न बाँकी रहेकोले छिटोभन्दा छिटो बक्यौता महशुल बुझाउन पत्र पनि उद्योगमा पठाइएको प्रमुख ठाकुरले बताएका छन् । डेडिकेटेड विद्युत लाईन लिएको उक्त उद्योगले उल्लेखित रकम तिर्नुपरेको कार्यालय प्रमुख ठाकुरले बताए ।

विद्युत शुल्क बुझाउनको लागि काउन्टरको विस्तार तथा इ–बिलिङ मार्फत समेत विद्युत महसुल बुझाउने व्यवस्था गरिएको छ । केन्द्रका अनुसार ग्रामीण विद्युतीकरण लगायत विद्युत विस्तारको कार्य र काठका पोल हटाउने कार्य पनि तीब्र रुपमा भइरहेको छ ।