मुख्यमन्त्रीलाई कारागारको समस्याबारे जानकारी गराउँदै जेलर खनाल र सो विषयमा जानकारी लिँदै मुख्यमन्त्री पौडेल तथा कार्यक्रमका सहभागीहरु

हेटौंडा,२८ कात्तिकः ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले भिमफेदी कारागारमा देखिएका समस्या हल गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

लायन्स क्लब अफ भुटनदेबीको आयोजनामा आज भिमफेदी कारागारमा भएको पुस्तकालय उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले स्थानीय सरकारसँग समन्वय गरी कारागारको समस्या समाधान गर्नेतर्फ प्रदेश सरकार लाग्ने बताएका हुन् ।
खानेपानी, फोहोर व्यवस्थापन, आन्तरिक सुरक्षा, स्वास्थ्य, विद्यालय निर्माण लगायत कारागारमा देखिएका समस्याको बारेमा जानकारी लिएपछि मुख्यमन्त्री पौडेलले एकै पटकमा नसकेपनि बिस्तारै उल्लेखित समस्याहरु समाधान गरिने प्रतिबद्धता जनाएका हुन् ।

पुस्तकालय उद्घाटनपछि कार्यक्रममा सहभागीहरुलाई सम्बोधन गर्दै मुख्यमन्त्री पौडेल

कारागारलाई जेल भन्दा पनि सुधार गृहको रुपमा हेरिने सरकारको नीति भएकोले त्यहाँ विद्यालय बनाउनेतर्फ आफू सचेत भएको मुख्यमन्त्री पौडेलले बताए । विगतको स्मरण गर्दै उनले भने, “म जेल पर्न छिटो भएछ, त्यतिबेला एउटा किताब पनि पाइन्नथ्यो । अहिले यति सुविधा रहेछ ।” उतिबेला किताब मगाएर पढ्न जेलरले सेन्सर गर्ने र आफूले पढेर १५ दिनपछि बल्ल दिने व्यवस्था भएको उनले बताए । जेलभित्र पुस्तकालय हुनु राम्रो कुरा भएको भन्दै उनले यसबाट पनि जनताको सरकार आएको बुझ्न सकिने दाबी गरे । कारागारभित्र बसेर सबै प्रकारका ज्ञान हाँसिल गरेर सक्षम नागरिक बन्न कैदीबन्दीलाई उनले सुझाव दिए ।

हरेक क्षेत्रमा दिन सक्ने जति सेवा सुबिधा दिन प्रदेश सरकार तयार रहेको भन्दै मुख्यमन्त्री पौडेलले कारागार प्रशासनलाई लिखित रुपमा समस्या पेश गर्न आग्रह गरे । कारागारका जेलर प्रकाश खनालले मुख्यमन्त्री पौडेललाई कारागारभित्र भएका समस्याहरुको विषयमा जानकारी गराएका थिए । उनले कारागारमा रहेका कैदी बन्दीलाई विद्यालय तथा क्याम्पसको आवश्यकता रहेको भन्दै कारागारभित्रै विद्यालय र क्याम्पस हुनुपर्नेमा जोड दिए । कारागारभित्र शैक्षिक संस्था भएमा कैदी बन्दीलाई पठनपाठनमा सहयोग पुग्ने र कारागारमुक्त हुँदा एउटा शिक्षित नागरिक भएर निस्कने जेलर खनालको भनाई थियो । त्यहाँको स्वास्थ्य समस्यालाई उल्लेख गर्दै उनले कारागारभित्र स्वास्थ्य केन्द्र स्थापना गर्नुपर्नेमा मुख्यमन्त्री पौडेलको ध्यानाकर्षण गराए । साथै कारागारभित्रको फोहोरमैला व्यवस्थापनको पक्षमा भएको समस्याबारे समेत जेलर खनालले ध्यानाकर्षण गराए ।

कार्यक्रममा भिमफेदी गाउँपालिकाकी उपाध्यक्ष पार्वती रानाले कारागारभित्र पुस्तकालय हुँदा कैदी बन्दीमा बाहिरी ज्ञान हासिल हुने भन्दै यसका लागि सहयोगीहरुलाई धन्यवाद दिइन् । सो क्षेत्रमा रहेको विभिन्न समस्यामा गाउँपालिकाको तर्फबाट गर्नुपर्ने सहयोग गर्न स्थानीय सरकार तयार रहेको उपाध्यक्ष रानाको भनाई छ । लायन्स क्लब अफ भुटनदेबीकी रजनी तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा, शम्भु नकर्मी लगायत सहभागी थिए ।