हेटौंडा,२८ कात्तिकः मकवानपुरगढीमा आज आयोजित एक दिने स्वास्थ्य शिविरमा ८९ जनाले स्वास्थ्य सेवा लिएका छन् । युवा सेवा समाज(युसेस) मकवानपुरले सञ्चालन गरेको कार्यक्रममा सहभागी भई उनीहरुले निःशुल्क स्वास्थ्य सेवा लिएका हुन् ।
स्वास्थ्य शिविर मकवानपुरगढी गाउँपालिका–४, स्थित शहीद रुद्र स्मृति सामुदायिक स्वास्थ्य ईकाइ कार्यालयको भवनमा सञ्चालन भएको थियो । शिविरमा ६ वर्षकी बालिकादेखि ७७ बर्षका बृद्धसमेत रहेको युसेसका अध्यक्ष बुद्धशरण लामाले बताए । उनका अनुसार स्वास्थ्य परीक्षण पश्चात् बिरामीहरुलाई निःशुल्क औषधि पनि वितरण गरिएको थियो ।
विशेष गरी दाँत सम्बन्धी स्वास्थ्य समस्या भएकाले सेवा लिएको शिविरमा दन्त चिकित्सक डा. अरिफ करिम र अन्य समस्या हुनेका लागि फिजिसियन डा. सन्ध्या अधिकारीले सेवा प्रदान गरेका थिए ।
मकवानपुरगढी गाउँपालिका–४, का वडा अध्यक्ष रामप्रसाद तिमिल्सिना, गाउँपालिकाको स्वास्थ इकाई प्रमुख विदुर लामिछाने र सृजनशील समाज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्ण बिडारी लगायतले शिविरको निरीक्षण गरेका थिए । युनिलिभर नेपाल लिमिटेडको साझेदारीमा शिविर आयोजना गरिएको हो । शिविरको स्थानीय संयोजनमा सृजनशील समाज बचत तथा ऋण सहकारी संस्था रहेको थियो ।