File photo

हेटौंडा,२८ कात्तिकः ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले अबको दुई साताभित्र यस प्रदेशको स्थायी राजधानी र प्रदेशको नामाकरणको विषय टुंगो लाग्ने दाबी गरेका छन् । लामो समयदेखि चर्चा र विवादमा रहेको राजधानी तथा प्रदेशको नामबारे बोल्न नचाहेका मुख्यमन्त्रीले आज यसबारे खुलेर बोलेका हुन् ।

आन्तरिक राजश्व विभाग र सिस्नुपानी नेपालले संयुक्त रुपमा आज हेटौंडामा आयोजना गरेको करमैत्री यात्रा हाँस्यव्यंग्य मनोरञ्जन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले “प्रदेशको राजधानी र नामाकरणको विषयमा धेरै चर्चा भयो अबको १५ दिनभित्र टुंग्याउँछु”, भने । कर तिर्नु सबैको दायित्व हो भन्दै जनताले कर तिरेर सरकारको कामलाई सहयोग गर्नुपर्नेमा उनले जोड दिए ।

ऋण र अनुदानबाट भन्दा पनि जनताले मेहनत गरेर बुझाएको करबाट देश सञ्चालन हुनुपर्ने उनको धारणा थियो । आफूले तिरेको कर सदुपयोग भएको छ कि छैन त्यो जान्न पाउनु जनताको अधिकार हो भन्दै मुख्यमन्त्री पौडेलले जनता त्यस विषयमा सतर्क रहनुपर्ने बताए ।

सरकारको करमैत्री कार्यक्रम मार्फत सिस्नुपानी नेपालले गरेको सहयोगी काम प्रशंंसनीय भएको भन्दै मुख्यमन्त्री पौडेलले धन्यवाद दिए । आन्तरिक राजश्व कार्यालय हेटौंडाका प्रमुख सन्तबहादुर ढकालको सभाध्यक्षतामा भएको कार्यक्रममा कलाकार मनोज गजुरेल, धिरेन्द्र प्रेमर्षी लगायतले सम्बन्धित विषयमा मनोजञ्जनात्मक प्रस्तुती दिएका थिए ।