हेटौंडा,२८ कात्तिकः ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सामाजिक रुपान्तरणको अभियानमा लागेकाहरुले परिवर्तनको सुरुवात आफैबाट गर्नुपर्ने बताएका छन् ।
प्रारम्भिक बाल विकासका लागि संघीय सांसदहरुको सहकार्य समन्वय समूहको आयोजनामा आज हेटौंडामा भएको प्रादेशिक संरचनामा प्रारम्भिक बालविकासका लागि संवैधानिक अधिकार तथा दायित्व विषयक परामर्श कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले यस्तो बताएका हुन् ।
हिजोका शैली परिवर्तन गरी नयाँ तरिका अपनाउँदै परिणाममुखी काममा ध्यान दिन जरुरी रहेको भन्दै मुख्यमन्त्री पौडेलले “हामी परिवर्तन हुन सक्यौं, सकेनौं आजको मुख्य प्रश्न हो”, भने । सामाजिक रुपान्तरणको अभियानमा लागेकाहरुले परिवर्नतको सुरुवात आफैबाट गर्नुपर्नेमा उनको जोड थियो ।
मुख्यमन्त्री पौडेलले घरमा अनुकूल वातावरण तयार भएमा बालबालिकाले असल संस्कार सिक्नेमा जोड दिँदै यस क्षेत्रमा काम गर्न प्रदेश सरकार तयार रहेको स्पष्ट पारे । संरचनाको हिसाबले प्रदेश सरकार सबैका लागि नयाँ भएको भन्दै मुख्यमन्त्री पौडेलले कानून र जनशक्तिको अभावमा परिणाम दिन केही समय लागेको स्वीकार गरे ।
बालबालिकाको क्षेत्र महत्वपूर्ण रहेकाले यसमा प्रदेश सरकार गम्भीर रहेको र काम गर्न आफुहरु तयार रहेको उनको भनाई छ । प्रदेश सरकार बाल बालिकाको विकासका लागि काम गर्ने गरी कानून निर्माण गरेको कार्यान्वयनको चरणमा रहेको पनि मुख्यमन्त्री पौडेलले जानकारी दिए ।
उता यसै प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले भने बालबालिकाको क्षेत्रमा कानून बनाइरहँदा कानून कार्यान्वयनमा जटिलता देखिएको बताए । कार्यक्रममा सहभागीहरुलाई सम्बोधन गर्दै सामाजिक विकासमन्त्री दुलालले बालबालिकाको हितमा काम गर्नु तीनै तहका सरकारको दायित्व भएपनि कानून बनाउँदा प्रदेश सरकारलाई दण्ड सजायको व्यवस्था गर्ने अधिकार नभएकोले कार्यान्वयनमा समस्या रहेको बताए ।
सबैले केन्द्र वा संघलाई मात्र ध्यान दिँदा प्रदेश सरकारले बनाएको कानून कागजी खोस्टासमान भएको भन्दै उनले “बालबालिकाको क्षेत्रमा हाम्रो अधिकार भनेको ब्रोसर, अपील, बनाएर टाँस्ने सम्मको मात्र हो । प्रदेश सरकारले कानून बनाए पनि कार्यान्वयनमा जटिलता छ”, भने । मन्त्री दुलालले प्रारम्भिक बालविकासका क्षेत्रमा प्रदेश सरकारसँग धेरै खालका अपेक्षा नगर्नका लागि आग्रह पनि गरे ।
प्रारम्भिक बाल विकासका लागि संघीय सांसदहरुको सहकार्य समन्वय समूहका संयोजक तथा संघीय सांसद सत्या पहाडीको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व सांसद सीता कुमारी पौडेल, सेतो गुराँस राष्ट्रिय बाल विकास सेवाका संस्थापक अगाथा पाख्रिन थापा, राष्ट्रिय सभाका सदस्य डाक्टर विमला राई पौड्याल, प्रदेश ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जमकट्टेल लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा संघीय तथा प्रदेश सांसदहरु, प्रदेश नीति तथा योजना आयोगका सदस्यहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु लगायतको उपस्थित थिए ।