हेटौँडा,२६ कार्तिक । नेपाली कांग्रेसका सभापति तथा पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कालापानी सदियौकालबाट नेपालको भूभाग भएको भन्दै सडकमा जुलुश गर्दैमा देशको भूभाग फिर्ता नहुने बताउनुभएको छ । यसका लागि कुटनीतिक पहल हुनुपर्ने उहाँको भनाई थियो ।
नेपाली कांग्रेस प्रदेश नंबर ३ को ६ वटा जिल्लाका महाधिवेशन प्रतिनिधिहरुलाई गरिएको प्रशिक्षण कार्यक्रमको उद्घघाटनशत्रमा बोल्दै नेता देउवाले सो कुरा बताउनुभएको हो ।
कालापानीको भूभाग एक इन्च पनि नछाड्ने प्रतिवद्धता कार्यक्रममा ब्यक्त गर्नुभयो । सभापति शेरबहादुर देउवाले ऋण लिएर रेल चढ्नेकुराको कांग्रेसले समर्थन नगर्ने बताउनुभयो । देउवाले भारत या चीन दुबैले रेलमा अनुदान दिने भएमात्र रेल बन्न सक्ने बताउनुभयो । उहाँले भन्नुभयो “भारत होस कि चीन होस, ऋण लिएर रेल बनाउने काममा समर्थन हुन्न, प्रत्येक वर्ष ब्याज तिर्दै रेल चढने कुरालाई समर्थन छैन् ।”
नेपाली कांग्रेसलाई बलियो बनाउनको लागि पार्टीमा आन्तरिक एकता आवश्यक रहेको समेत उहाँको भनाई छ । कार्यक्रममा नेपाली कांग्रेसका बरिष्ट नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेसले अब नेपालको कम्युनिष्टसँग प्रतिस्पर्धा गर्नुपर्ने बताउनुभयो । कम्युनिष्टहरुको विचारनै नभएको र बहुदलमा विश्वास गर्ने चरित्र समेत नरहेको उहाँको आरोप छ ।
कार्यक्रममा कांग्रेस उपसभापति विमलेन्द्र निधि, केन्द्रीय नेताहरु डाक्टर शसांक कोईराला, डाक्टर रामशरण महत लगाएतले बोल्नुभएको थियो । भोलीसम्म चल्ने प्रशिक्षण कार्यक्रममा प्रदेश नंबर ३ का ६ जिल्लाका २९० जना महाधिवेशन प्रतिनिधिहरुको सहभागिता रहेको छ ।