फोटोः गुगल

हेटौंडा,२६ कात्तिकः पुल अभावको कारण यातायात सञ्चालन र व्यावसायिक कारोबारमा समस्या भोग्दै आएका मकवानपुर क्षेत्र नम्बर २ मा चालु आर्थिक वर्षमा करिब १ अर्बको लागतमा आधा दर्जन पक्की पुल बन्ने भएको छ ।

संघीय सरकारको चालु आर्थिक वर्षको बजेट मार्फत उक्त पुल निर्माण गर्न लागिएको बताइएको छ । मकवानपुर २ नं. निर्वाचन क्षेत्रका संघीय सांसद विरोध खतिवडाको विशेष पहलमा पक्की पुल निर्माण गर्न लागिएको उनको भनाई छ ।

लामो समयदेखि पुल अभावको समस्या झेल्दै आएका स्थानीय बासिन्दाहरुको सुविधाका लागि संघीय सरकारले बजेट छुट्याएर पुल निर्माण गर्न प्रक्रिया अगाडि बढाएको हो । संघीय सरकारको लगानीमा मनहरी गाउँपालिकाको सानान्टार–हाँडीखोला जोड्ने पक्की पुल १७ करोड लागतमा निर्माण गर्न लागिएको बताइएको छ ।

सांसद खतिवडाका अनुसार राक्सीराङ गाउँपालिकाको सरिखेत–चुलिगंखोला, मकवानपुरगढी गाउँपालिकाको डुम्रेकुना–गढी, थाहा नगरको घर्तीखोला–थाहानगर तसार खोला, भीमफेदी गाउँपालिकाको इपा कोगटे गाउँमा पनि पुल निर्माणको प्रक्रिया अगाडी बढाइएको छ ।

केही पुलहरुको टेण्डर प्रक्रिया पनि अगाडी बढाइएको छ । पुल निर्माण हुने निर्णयले स्थानीय बासिन्दाहरु खुसी भएका छन् । पुल अभावका कारण स्थानीय नागरिकहरुले निकै समस्या भोग्नुपरेको मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेती बताउँछन् ।