हेटौंडा,२६ कात्तिकः मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१० बसपार्कबाट प्रहरीले करिब २ लाख रुपैयाँ बराबरको प्रतिबन्धित औषध ट्रमा सहित एकजनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको गस्ती टोलीले आज बिहान मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१३ पदमपोखरी बस्ने २९ वर्षीय दिपक सिंह मोक्तानलाई पक्राउ गरेको हो । प्रहरीले शंकास्पद अवस्थामा देखिएकोले सुरक्षा जाँच गर्दा निजको साथमा रहेको जेब्रा झोलामा ५२ प्याकेटमा १५,६०० ट्याब्लेट (करिब २ लाख रुपैयाँ बराबरको) प्रतिवन्धित औषध ट्रमा फेला पारेको जनाएको छ ।
निजलाई प्रतिबन्धित औषध सहित पक्राउ गरी आवश्यक कारवाहीको लागि औषधि व्यवस्था विभाग बीरगंज पठाउने कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता तथा प्रहरी निरीक्षक ललन प्रसाद कुर्मीले जानकारी दिए ।