हेटौंडाः ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले र भारतीय दुतावासका चार्ज डिअफेयर्स डा. अजयकुमारले आज मंगलबार हेटौंडा उपमहानगरपालिका–६, गौरीटारमा बहुप्राबिधिक महाविद्यालय (पोलिटेक्निक इन्स्टिच्युट)को शिलान्यास गरेका छन् । निकै महत्वका साथ हेरिएको उक्त नेपाल भारत मैत्री इन्स्टिच्युट सम्झौता भएको ९ वर्षपछि शिलान्यास भएको हो ।
भवन शिलान्यास कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले देशभरका औद्योगिक क्षेत्रमा आवश्यक जनशक्ति उत्पादनका लागि प्राविधिक शिक्षा आवश्यक रहेको बताए । उनले लामो समयदेखिको सपनाको रुपमा रहेको पोलिटेक्निक इन्स्टिच्युटको शिलान्यास भएको भन्दै समयमै काम सम्पन्न हुनुपर्नेमा जोड दिए । कार्यक्रममा प्रदेश सरकारका मन्त्री, जनप्रतिनिधि र स्थानीयको उपस्थिति रहेको थियो ।
भारत सरकारको ५८ करोड ४८ लाख रुपैयाँ आर्थिक सहयोगमा बन्न लागेको शिक्षालयमा सिटिईभिटि अन्तर्गत इलेक्ट्रिकल इन्जिनियरिङ, इलोक्ट्रोनिक एवं कम्युनिकेशन इन्जिनियरिङ, मेकानिकल इन्जिनियरिङ र कम्प्युटर इन्जिनियरिङ जस्ता ३ बर्षे डिम्प्लोमा कोर्ष संचालन हुनेछन् । साढे १७ हेक्टर क्षेत्रफलमा इन्स्टिच्युट निर्माण हुन लागेको हो । जसमा प्रत्येक विषयका लागि ४२/४२ जनाको कोटाको व्यवस्था गरिने जनाइएको छ ।
आवश्यकता अनुसार हाउस वायरिङ, मोटर रिवाईन्डिङ, प्लम्बर, इलेक्ट्रिसियन, सिकर्मी, डकर्मी जस्ता १७ विभिन्न शिर्षकका कक्षा समेत महाविद्यालयमा संचालन हुनेछन् । दुइपक्षीय सहमति अनुसार इन्स्टिच्युट संचालनको सुरुवातका ५ बर्षसम्म भारत र नेपालका बराबर कर्मचारीहरुको व्यवस्था गरिने छ । ५ बर्षपछि भारतले आफ्नो कर्मचारीहरुको संख्या आधा घटाई १० बर्ष पछि पोलिटेक्निक इन्स्टिच्युट नेपाल सरकारलाई हस्तान्तरण गर्ने सहमतिमा उल्लेख छ ।