हेटौंडाः सामाजिक सञ्जालमा जथाभावी अभिव्यक्ति दिँदै हेटौंडाको बदनाम गराउन खोज्ने व्यक्तिलाई कारवाही गर्न माग गर्दै हेटौंडाका युवाहरुले गृहमन्त्री रामबहादुर थापालाई ज्ञापनपत्र बुझाएका छन् ।
आज सोमबार मकवानपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीमार्फत उनीहरुले गृहमन्त्री थापालाई ज्ञापनपत्र बुझाएका हुन् । विशाल गौतम नाम गरेका युवाले हेटौंडा–१०, स्थित बसपार्कको विषयमा सामाजिक सञ्जाल फेसबुकमार्फत यौन हिंसाजन्य गतिविधि गरेको भन्दै उनीहरुले कारवाहीको माग गरेका हुन् ।
गौतमले फेसबुकमा पोष्ट गरेको भिडियोमा हातको इसारामा हेटौंडा बसपार्कको बारेमा आपत्तिजनक अभिव्यक्ति दिएका थिए । यसले हिंसाको अनुभूति भएको भन्दै सामाजिक सञ्जालबाट उक्त भिडियो हटाउन र दोषीलाई कारवाही गर्न हेटौंडेली युवा समाजले माग गरेको हो ।
गौतमले फेसबुकमा मेमे नेपालमा पोष्ट गरेको भिडियोमा आफु हेटौंडाको एयरपोर्ट (बसपार्क)मा रहेको भन्दै नाकको फुलि इशारा गरेर यस (यौन गतिविधि)का लागि हेटौंडा बसपार्क प्रख्यात रहेको आरोप लगाएका थिए । यसले युवाहरुमा नकारात्मक असर पर्ने र हेटौंडाको बदनाम हुने युवाहरुको तर्क छ ।