हेटौंडा,८ कात्तिकः जिल्ला समन्वय समिति मकवानपुरका उपप्रमुख भगवती पुडासैनीले संस्कारको नाममा रहेको कुरितीले महिलामाथि विभेद रहीरहेको बताएकी छन् । अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवसको अवसरमा आज हेटौंडामा आयोजित ग्रामीण महिला दिवसको अवधारणापत्र र नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् ।
नेपाली महिला संविधानतः अधिकारसम्पन्न र शक्तिशाली भएपनि अलिखित कानूनहरुका कारण विभेद सहन बाध्य भएको भन्दै उनले सामाजिक कुरिती हटाउन सबै मिलेर अघि बढ्नुपर्ने बताइन् । “कानूनले अधिकार दिएको छ, तर आज पनि हाम्रा दिदीबहिनीहरु धेरै हिंसा, पीडा खेपेर बस्न बाध्य छन्”, उपप्रमुख पुडासैनीले भनिन् । समाजमा रहेका कुरिती, कुसंस्कार र विभेदकारी हाम्रा व्यवहारहरुमा परिवर्तन नआएसम्म नेपालका महिलाहरुले पूर्ण रुपमा अधिकारसम्पन्न भएको महसुस गर्न नसक्ने उपप्रमुख पुडासैनीको भनाई छ ।
वर्तमान महिलाको अवस्था विश्लेषण गर्दै उपप्रमुख पुडासैनीले भनिन्, “अहिले हेर्ने हो भने सबैजसो ठाउँमा महिला पनि पुगेका छन्, तर अझैपनि हरेक ठाउँमा महिलाहरु पीडित छन् ।’ महिलाहरुको अधिकार र विकासका लागि व्यवहारिक कठिनाईका रहेको उपप्रमुख पुडासैनीको भनाई छ ।
कार्यक्रममा बोल्दै मानव अधिकार संरक्षण तथा मानव बेचविखन बिरुद्धको सञ्जालकी संयोजक आरती पाठकले हाम्रो घर घरका व्यवहारिक कामहरुमा महिलाहरुलाई सघाउने हो भने उनीहरु पनि सामाजिक तथा आर्थिक क्षेत्रमा अगाडी बढ्न सक्ने विचार व्यक्त गरिन् । घरायसी काम बाँडफाँट भए महिलाको कार्यबोझ कम हुनुका साथै अन्य क्षेत्रमा पनि महिलाको सहभागिता बृद्धि हुने उनको भनाई छ ।
कार्यक्रममा राष्ट्रिय महिला अधिकार मञ्चका महासचिव निर्मला महतराले ग्रामीण महिला दिवसको अवधारणापत्र र नीति सम्बन्धी प्रस्तुती दिएकी थिइन् ।
मकवानुर महिला समूहको आयोजना, राष्ट्रिय महिला अधिकार मञ्चको समन्वय तथा एक्सन एड्आ/इरिस एड्को सहयोगमा कार्यक्रम सञ्चालन भएको हो । कार्यक्रममा मकवानपुर महिला समूहकी अध्यक्ष कमला सुवेदीको सभाध्यक्षता तथा जिल्ला समन्वय समितिका उपप्रमुख भगवती पुडासैनीको प्रमुख आतिथ्यता रहेको थियो ।
छलफलमा हेटौंडा उपमहानगरपालिकाका उपमेयर मिनाकुमारी लामा, बाल विवाहमुक्त प्रदेश अभियानका मकवानपुर जिल्ला सहजकर्ता पविना लामा, मकवानपुर महिला समूहकी कार्यक्रम संयोजक निशा लामा, महिला अधिकार मञ्च ३ नं. प्रदेश सचिव सिता पुलामी लगायत उपस्थित थिए ।