मनहरी, ७ कार्तिक । मनहरी गाउँपालिकाले आगामी पुस भित्र बालमैत्री गाउँपालिका घोषणा गर्ने तयारी गरिरहेको जनाएको छ । यसका लागि वडास्तरमा छलफल गर्ने र प्रतिबद्धता जाहेर गर्ने काम भइरहेको गाउँपालिकाकी उपाध्यक्ष मनिला बिष्टले जानकारी दिइन् । गत सोमबार मनहरी–४ स्थित पशुपतिनाथ माविमा वडास्तरीय छलफल तथा प्रतिबद्धता गरिएको छ ।
कार्यक्रममा मनहरी गाउँपालिकाका सामाजिक विकास अधिकृत राजेन्द्र चौलागाईले सबै सूचकमा उपलब्धी भइरहेको जानकारी दिए । मनहरी गाउँपालिकाको वडा नं १ र २ मा आईतबार, ३ र ४ मा सोमबार वडास्तरीय छलफल गरिएको हो । मंगलबार वडा नं ५ र ६ मा छलफल तथा प्रतिबद्धता जाहेर गर्ने तयारी भएको बताइएको छ ।
पशुपतिनाथ माविको सभाहलमा भएको कार्यक्रममा वडाका निर्वाचित प्रतिनिधि, विद्यालयका बालबालिका, बालसमूहका प्रतिनिधि, शिक्षकहरुको सहभागिता थियो । नेपालमा बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति र कार्यान्वयन कार्यविधि–२०६८ मा जारी भएको थियो । नेपालका प्रगतिनगर, सुनवल, विराटनगर तथा अन्य सानो संख्यामा स्थानीय निकायबाट बालमैत्री नगर तथा गाउँ घोषणा भइसकेको छ ।
स्थानीय तहको पुनर्संरचना भएपछि बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति अनुसार तयारी अन्तिममा पुगेको उपाध्यक्ष बिष्टले जानकारी दिइन् । बालमैत्री स्थानीय शासनका २७ वटा सेवा प्रवाहसम्बन्धी र १२ वटा संस्थागत सूचकहरु छन् ।
बालबचाउ, बालसंरक्षण, बालविकास तथा बालसहभागिता सम्बद्ध यी सूचकहरुमा मनहरी गाउँपालिकाले यस अघि नै धेरै काम गरिरहेका उपाध्यक्ष बिष्टले जानकारी दिइन् । जुन सूचक कमजोर छ त्यसलाई आधार बनाएर लगानी योजना बनाईएको गाउँपालिकाले जनाएको छ ।