हेटौंडा,२ कात्तिकः मकवानपुरको वकैया गाउँपालिका अन्तर्गत जुरेलीमा जारी प्रथम राष्ट्रिय माझी गोल्डकपमा आज सुनसरीका देवकुमार माझीले ह्याट्रिक गरेका छन् ।
जर्सी नं. ७ का देवकुमारले खेलको ३१, ३६ र ५६औं मिनेटमा गोल गरेका हुन् । माझी गोल्डकपको पहिलो ह्याट्रिक खेलाडी बनेका उनी आजको ‘म्यान अफ द म्याच’ बन्न सफल भए ।
यस्तै जर्सी नं. १० का सविन माझीले खेलको ५८औं मिनेटमा १ गोल र जर्सी नं. ८ का प्रविन माझीले ७१औं मिनेटमा गोल गरेका छन् । आजको खेलमा सुनसरी ५–० गोल अन्तरले धादिङलाई पराजित गर्न सफल भएको छ ।
झापा र नुवाकोटको खेलका लागि भने झापा मैदानमा नआएका कारण आज एउटा मात्र खेल खेलाइएको हो । हिजो भएको उद्घाटन खेलमा बारा बिरुद्ध वकैया निलो ३–० गोल अन्तरले विजयी भएको थियो ।