हेटौंडा,२ कात्तिकः सरकारले सामुदायिक बनमा लगाएको तेहोरो करको बिरुद्धमा महासंघले आन्दोलन थालेको छ । आन्दोलनको कार्यक्रमबारे आज हेटौंडामा पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

आन्दोलनको कार्यक्रमबारे जानकारी दिँदै सामुदायिक वन उपभोक्ता महासंघका ३ नम्बर प्रदेश सदस्य रामहरि चौलागाईंले वन उपभोक्ताप्रति सरकार जिम्मेवार नभएको आरोप लगाए ।

स्थानीय स्तरमा सामुदायिक वनले गरेका राम्रा काम र जनतालाई लाभ हुने काममा ध्यान दिने कुरामा सरकारको कुनै प्रतिबद्धता नहुनुका साथै उपभोक्तामाथि तीनै तहका सरकारले कर लिने किसिमको नीतिका बिरुद्धमा आन्दोलन आवश्यक परेको उनले स्पष्ट पारे ।

विगतमा वन ऐन २०४९ ले व्यवस्था गरे वमोजिम २८ प्रतिशत कर तिर्दै आएको महासंघलाई अहिलेको नीति अनुसार स्थानीय सरकार, प्रदेश र संघमा थप गरी करिब ७३.२५ प्रतिशत कर लाग्नेछ । समुदाय तहमा महासंघले गरेको योगदानलाई भुलेर यसरी कर मात्र थोपरेको भन्दै महासंघ मकवानपुर अध्यक्ष साधुराम चौलागाईंले यसको बिरुद्धमा सरकारको ध्यानाकर्षणका लागि पहिलो चरणको आन्दोलन थालिएको जानकारी गराए ।

सामान्य किसिमबाट ध्यानाकर्षण गराउँदा सुनुवाई नभएमा महासंघ दोस्रो चरणको आन्दोलनमा जान बाध्य हुने उनको भनाई थियो । जनताको दुई तिहाई मत प्राप्त सरकारले जनतालाई अधिकारसम्पन्न बनाउने आशा रहेकोमा अझ भएका अधिकार पनि खोस्ने प्रयास भएकोमा विरोध जनाउँदै उनले यसबिरुद्ध हुने आन्दोलनमा सहयोग गर्न सबै पक्षलाई आग्रह गरे ।