शुभलक्ष्मी विश्वकर्मा
हेटौंडा,१७ असोजः सामान्यतया २०/२५ वर्षको उमेरसम्म- भविष्यमा के बन्ने, के गर्ने, कुन क्षेत्रमा करिअर बनाउने भन्ने टुंगो नलागेको युवाहरु हामी पाउँछौं । तर, २६ वर्षीय अनिता स्याङ्बो (अनु)ले आफ्नै कमाईमा कृषि फार्म सञ्चालन गरिरहेकी छन् ।

करिब १ करोड लगानी गरी उनले मनहरी गाउँपालिका–९, ज्यामिरेमा एकीकृत कृषि फार्म खोलेकी हुन् । जहाँ लोकल कुखुरा, माछा, बंगुर र खसीबोका छन् । मनहरी गाउँपालिका–९, ज्यामिरेस्थित आफ्नो घरमा उनले १० कट्ठा आफ्नै जग्गा तथा १० कठ्ठा लिजमा लिएर कूल १ बिगाहा जमिनमा एक वर्षअघि कृषि फार्म सुरु गरेकी थिइन् । अहिले उनको फार्ममा करिब १६ सय वटा लोकल कुखुरा, केही बंगुर, माछा र खसी छन् ।

‘अनु एकीकृत कृषि फार्म’ दर्ता गरी राम्रो व्यवस्थापनको साथमा फार्म सञ्चालन भइरहेको उनी बताउँछिन् । फार्ममा १ जना म्यानेजर सहित ३ जना कर्मचारी छन् । यसको व्यवस्थापनका लागि समय मिलेसम्म आफै खटिने गरेको र कर्मचारी तथा अन्य व्यक्तिहरुबाट पनि काम लिने गरेको अनुको भनाई छ । “नजिकै सुकुम्बासी बस्ती छ, यता कामदार पनि प्रशस्त पाइन्छ”, उनले भनिन् । उनका अनुसार कृषिमा राम्रो सम्भावना देखेर एक वर्षअघि यस फार्मको सुरुवात भयो । उनले लोकल कुखुरा प्रतिकेजी ६५० (पोथी) देखि ७०० (भाले) सम्ममा बेच्ने गरेकी छन् ।

२०५२ सालबाट सुरु भएको १० वर्षे जनयुद्धका क्रममा माओवादीमा लागेकी उनी त्यहाँ कलाकार, सेना हुँदै १२ वर्ष बिताइन् । सेना समायोजन भएपछि क्याम्पबाट बाहिरीएकी अनु २० वर्षको उमेरमा दुबई प्रहरीमा काम थालिन् । ५ वर्ष दुवइमा बिताएपछि व्यवसाय गर्ने रकम र सोच जम्मा पारी अनु नेपाल फर्किएकी थिइन् ।
“सेना समायोजनको अन्तिम प्रक्रियासम्म हामी त्यहीँ थियौं, स्वेच्छिक अवकास लिएर दुबई गएँ”, उनले भनिन् । त्यहाँ काम गर्ने वातावरण राम्रो नभएकोले मासिक डेढ लाखको जागीर छोडेर नेपाल फर्किएको अनु बताउँछिन् ।

अहिले व्यवसायले सन्तुष्टि दिइरहेको र अझै बढाउने र यही पेशालाई निरन्तरता दिने उनको सोच छ । फार्मको एकवर्षे अनुभव सुनाउँदै उनले भनिन्, “कृषिमा राम्रो गर्न सकिन्छ तर स्थानीय तहमा कृषि प्राविधिक, भेटेनरी डाक्टर लगायत पर्याप्त प्राविधिक सहयोग पाइएको छैन ।”
स्थानीय सरकारले कृषि क्षेत्रमा केही गर्छु भन्ने भावना भएका युवाहरुलाई प्रोत्साहन गर्नुपर्ने, प्राविधिक सेवा उपलब्ध गराउनु पर्ने र व्यवसायिक सुरक्षाको प्रत्याभूति दिनुपर्ने उनको भनाई छ ।