हेटौंडा,१६ असोजः वडा दशैं नजिकिएसँगै हेटौंडा–१०, टिसिएन क्षेत्रमा रहेको खसीबजारमा भिडभाड बढेको छ । जिल्लाका विभिन्न क्षेत्रबाट खसीबोका लिएर आएका व्यवसायीहरु र ग्राहकका कारण बजारमा भीड बढेको हो ।
मकवानपुरको पूर्वी क्षेत्रमा रहेको बकैया गाउँपालिकाबाट खसीबोका लिएर हेटौंडा आइपुगेका व्यवसायी शिवराम दाहालले अहिले बजारमा पर्याप्त खसीबोका उपलब्ध रहेको बताए । उनका अनुसार दसैंका लागि हेटौंडामा ल्याइएका अधिकांश खसीबोका जिल्ला तथा आसपासका क्षेत्रहरुबाट आएका छन् ।
खसीबजारमा भेटिएका हेटौंडा–१० का रामकुमार विष्टले अहिले बजारमा पाइने खसी केजीको ९०० रुपैयाँभन्दा बढी पर्ने पाइएको बताए । “पहिलाको भन्दा धेरै महंगो छ”, उनले भने । बजारमा मूल्य सुन्दा तयारी मासु भन्दा पनि खसी किन्दा महंगो पर्ने पाइएको ग्राहकहरु बताउँछन् ।
पहिला छिमेकी देश भारतबाट धेरै मासु भित्रिने गरेकोमा केही व्यवसायिक फार्मका कारण स्थानीय स्तरमै उत्पादित खसीबोका बजारमा उपलब्ध रहेको जानकारहरु बताउँछन् । खसीबजारमा खसीबोकाको साथै हिमाली क्षेत्रमा पाईने च्याङ्ग्रा पनि उपलब्ध रहेको बताइएको छ ।