हेटौंडा,१५ असोजः नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले देश विकास नभए प्रतिगमन कुनैपनि हालतमा रोक्न नसकिने बताएका छन् । श्रमजीवि पत्रकार ऐन, न्यूनतम पारिश्रमिक निर्धारण समितिले आज हेटौंडामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रवक्ता श्रेष्ठले जनतामा रहेको निराशा हटाउने गरी विकास गरेमात्र देश उन्नतीको बाटोमा अघि बढ्ने बताएका हुन् ।
प्रवक्ता श्रेष्ठले अहिले विभिन्न बहनामा प्रतिगमनकारी सल्बलाएको भन्दै अहिले नै प्रतिगमनको खतरा नरहेको पनि स्पष्ट पारेका छन् । उनले नेकपा, सरकार र लोकतान्त्रिक पार्टीले ठीक काम गरे कुनैपनि तागतले चाहेर राजतन्त्र स्थापना गर्ने वा निरंकुशतन्त्र स्थापना गर्ने सम्भावना नरहेको बताए । तर, बेलैमा ठीक काम गर्न नसके जति चिच्याएर पनि प्रतिगमनलाई रोक्न नसकिने उनको तर्क छ ।
नेपाली समाजलाई राजनीतिक उपलब्धिबाट यति परिवर्तन भयो भनेर देखाउन नसके सरकार सफल नहुने र जनतामा निराशा छाउने प्रवक्ता श्रेष्ठले बताए । राजनीतिको लागि मात्रै राजनीतिक परिवर्तन भयो भने जनतामा ठूलो निराशा आउने र त्यसले राज्य व्यवस्थामा पनि खतरा रहने उनले बताए । प्रवक्ता श्रेष्ठले राजनीतिक व्यवस्थाप्रति जनतामा निराशा पैदा हुन नदिन सत्तापक्ष र प्रतिपक्षले विकासको एजेण्डामा एकता कायम गरेर अघि बढ्नुपर्नेमा समेत जोड दिए ।
अब आर्थिक र सामाजिक विकासको विकल्प नभएको भन्दै उनले नेकपा सरकारलाई गफ मात्रै गरेर विकास नगर्ने छुट नरहेको बताए । उनले जनतालाई भाषण, दस्तावेज देखाएर केही नहुने भन्दै व्यवहारमा सामाजिक न्याय सहितको समृद्धिको विकल्प नरहेको बताएका छन् ।
कार्यक्रममा न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुली, नेपाल पत्रकार महासंघका ३ नम्बर प्रदेश अध्यक्ष प्रताप विष्ट लगायतले धारणा राखेका थिए । हेटौंडाबाट सञ्चालन हुँदै आएको रेडियो सन्देशको वार्षिकोत्सव समारोहमा कार्यक्रमका लागि हिजो साँझ हेटौंडा आइपुगेका उनी आज बिहान पुष्पलालस्थित नेकपाको कार्यालयमा कार्यकर्तासँग भेटघाट गरी यस अन्तरक्रियामा सहभागी भएका हुन् ।